वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन

भक्तपुर, ६ पुस । वागीश्वरी माध्यमिक विद्यालयबाट विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई मङ्गलबार बधाई एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले विश्वविद्यालय शिक्षाको प्रवेशद्वारमा पुगेका विद्यार्थीहरुले समाजको योगदानको निम्ति उद्देश्य, भावी योजना तय गर्न सक्यौ भने विषय छनोट गर्न सजिलो हुन्छ भन्नुभयो ।
आर्थिक रूपले सम्पन्न विद्यार्थीहरुले मात्र पढ्न पाउने नवउदारवादी शिक्षा नीतिबारे प्रष्ट पार्दै उहाँले हालै निर्वाचित चिलीका नवउदारवादविरोधी ३५ वर्षीय वामपन्थी नेता गाब्रियल बोरिकजस्तै विद्यार्थीहरुले व्यक्ति, परिवार, समाज र देशको हितमा निर्णय गर्न सक्ने तहको रूपमा स्नातक तहलाई बुझ्न र संवेदनशील हुन उहाँले अनुरोध गर्नुभयो ।
एमसीसीबारे विश्वविद्यालय तहमा पुग्ने विद्यार्थीहरुले जानकारी राखिएन भने देशले पछुताउनुपर्ने बताउँदै उहाँले नेपालको संविधानभन्दा माथि हुने, नेपालमा योजना लागू गर्न भारतको अनुमति चाहिने, योजनामा विवाद भए अमेरिकी अदालतको निर्णय लागू हुनेजस्ता शर्तहरु भएको एमसीसीसम्झौता नेपाल र नेपाली जनताको हितमा नरहेको स्पष्ट पार्नुभयो ।
विशेष अतिथि ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले प्राविधिक शिक्षाको महत्वबारे प्रष्ट पार्दै विद्यार्थीहरुले लक्ष्य लिएर अध्ययनलाई अगाडि बढाउन सकेको खण्डमा सफलता हासिल गर्न सकिने बताउनुभयो ।
गुणस्तरीय शिक्षा भक्तपुरको पहिचान भएको स्पष्ट पार्दै उहाँले शिक्षामा महिलाहरुको प्रस्तुती तथा उपस्थिति उत्कृष्ट र अनुकरणी छ भन्नुभयो ।
अतिथि वागीश्वरी माविका +२ संयोजक ज्ञानसागर प्रजापतिले कागजमा पाएको योग्यतालाई व्यवहारमा उतार्न सकेनौँ भने योग्यता कागजको खोस्टा सावित हुने बताउनुभयो ।
अग्रजहरुको पौरख र स्वाभिमानले गौरव अनुभूति गराएको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु पनि स्वाभिमानी हुनुपर्ने उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापकद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल, इन्चार्जहरु ग्याहेन्द्रप्रसाद दाहाल, भानुभक्त हुमागाई, निरु ताल्चाभडेल, कलेजका विद्यार्थी बबिता ग्वाछा, शिक्षा सङ्कायका उत्कृष्ट विद्यार्थी विवेक बुढाथोकी, विज्ञान सङ्कायका उत्कृष्ट विद्यार्थी यज्ञबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्याख्वले त्रिभुवन विश्वविद्यालयबाट बीबीएसमा नेपाल प्रथम हुन सफल वागीश्वरी कलेजका विद्यार्थी बबिता ग्वाछालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने विद्यालयका प्रअ धन्छाले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

वागीश्वरी कलेजमा युवा उद्यमशीलता कार्यक्रम

भक्तपुर– वागीश्वरी कलेज स्नातक तह बीबीएस प्रथम वर्षका विद्यार्थीहरुका लागि युवा उद्यमशील महिला सुनिता न्हेम्हाफुकीको उपस्थितिमा युवा उद्यमशील कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै मानिस कुनै न कुनै क्षेत्रमा संलग्न हुनुपर्नेमा अतिथि न्हेम्हाफुकीले जोड दिनुभयो ।
आफूलाई बढी भन्दा बढी काममा व्यस्त राख्ने उहाँ १८ वर्षको उमेरदेखि उद्यमशीलताको क्षेत्रमा कार्य सुरु गरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयमा पीएचडी तहमा अध्ययनरत उहाँले विद्यार्थीलाई टिकटक हेर्न, सामाजिक सञ्जाल चलाउनका लागि मात्र प्रविधिको प्रयोग नगरी उद्यमशीलताको विकासको लागि प्रविधिलाई अधिकतम उपयोग गर्न सकिने उहाँले बताउनुभयो ।
‘केहि नगर्नुस् तपाईँ जहाँको त्यही रहनुहुन्छ तर केही कदम अघि बढाउने प्रयास गर्नुस् पक्कै सफल बन्नुहुनेछ ।’ उद्यमी बन्न रुचि रहेका विद्यार्थीलाई आफूले सक्दो सहायता र अवसर प्रदान गर्ने प्रतिबद्धताका साथ उहाँले भन्नुभयो ।