वागीश्वरी कलेजले ग¥यो दीक्षान्त समारोह इमान्दारीता र सदाचारिता झल्किनुपर्नेमा जोड

भक्तपुर, १३ मंसिर
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरसम्बन्धी मापन क्यूएए प्राप्त वागीश्वरी कलेजबाट स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरुको शनिवार होटल सिटीगाउँमा दीक्षान्त समारोह सम्पन्न भयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २०८१ (२०२४) मा मानविकी र व्यवस्थापन सङ्कायमा स्नातक तह (बीए र बीबीएस) तथा स्नातकोत्तर तहमा (एमबीएस र एमए) उत्तीर्ण १३९ जना विद्यार्थीहरुलाई दीक्षान्त गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले शिक्षा र प्रमाणपत्रभन्दा पनि संस्कार र नैतिकता अपरिहार्य भएको बताउँदै वागीश्वरी कलेजले देशभक्त इमान्दार र सदाचारी व्यक्ति उत्पादनमा जोड दिँदै आएको स्पष्ट पार्नुभयो ।
लोकसेवाबाट पहिलो स्थान नाम निकाल्ने पनि भ्रष्टाचारी हुने भए त्यस्तो जनशक्ति देशको लागि अभिशाप हुने भएकाले वागीश्वरीका विद्यार्थीहरु इमान्दार, पारदर्शी र आर्थिक अनुशासनमा बस्ने दक्ष नमुना व्यक्ति हुनेमा विश्वास प्रकट गर्नुभयो ।
देशबाट विद्यार्थीहरु खुशीले बाहिर गएका नभई शासकहरुले बाहिर जान बाध्य पारेको दृष्टान्त दिँदै उहाँले शिक्षित बेरोजगार बाहिर पठाउँदा आफूहरुले निर्धक्कसँग भ्रष्टाचार र अनियमितता गर्न पाइने सोच शासक दलहरुमा रहेको धारणा उहाँले कार्यक्रममा राख्नुभएको थियो ।
नेताहरुले कार्यकर्तालाई इमान्दारिता नसिकाइकन भ्रष्टाचार गर्न प्रोत्साहन गर्दा र भ्रष्ट कार्यकर्ताको संरक्षण गर्दा अहिले ठूला दलहरुका नेताहरुलाई गाह्रो भएको र भागी भागी हिँड्न बाध्य भएको टिप्पणी प्रमुख प्रजापतिले गर्नुभयो ।
कुनै विचार र सिद्धान्त नभएको आन्दोलनले देशलाई भन्दा परनिर्भरतालाई प्रश्रय दिएको र विदेशीहरुलाई फाइदा पुगेको धारणा पनि उहाँले राख्नुभएको थियो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले स्नातक र स्नातकोत्तरको परीक्षाभन्दा पनि अब जीवनको परीक्षा कठिन हुने भएकाले निरन्तर अध्ययन गरिराख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘समुदायमा आधारित अनि समुदायले नै अपनत्व लिई सञ्चालन गर्दै आएको वागीश्वरी कलेजजस्तो सामुदायिक कलेजबाट दीक्षित हुनु गर्वको कुरा हो ।’
देश अहिले पनि संकटमा फसिरहेको बताउँदै उहाँले सच्चा नागरिकहरुले मातृभूमीको विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

३५ वर्षमा काङ्ग्रेस एमालेजस्ता पार्टीहरु बदनाम र कुख्यात भएको जनाउँदै उहाँले राजनीति भनेको त्याग हुनुपर्नेमा व्यक्तिगत स्वार्थका लागि काम गर्दा बदनामी कमाएको स्पष्ट पार्नुभयो ।
पार्टीमा सदस्यता प्राप्त गर्नु भनेको ठूलो परीक्षाबाट उत्तीर्ण हुनुजस्तो हुनुपर्नेमा अहिले दलाल दलहरुले भ्रष्टाचारी, अपराधिहरुलाई पनि टीका लगाएर सरल तरिकाबाट पार्टी प्रवेश गराएर राजनीतिलाई बदनाम गराइरहेको धारणा उहाँले कार्यक्रममा राख्नुभएको थियो ।
राजनीति भनेको जीवन सङ्घर्ष, वर्ग संघर्ष हो भन्दै उहाँले राजनीति भनेको नैतिकता आदर्श र सुसंस्कार भएको स्पष्ट पारे । अहिले शासक दलहरुले गरिरहेको भागवण्डा, भ्रष्टाचार र विदेशीको दलाली गर्नु राजनीति हुन नसक्ने सांसद गोसाईंको धारणा थियो ।

वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं ९ का अध्यक्ष रविन्द्र ज्याख्वले विदेशमा अध्ययन गरे पनि स्वदेशमा अध्ययन गरे पनि आफूले सिकेको ज्ञान, सीप, प्रविधि र दक्षता आफ्नै समाजलाई हित हुने गरी उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नपढ्नेहरुले बरु रेमिट्यान्स पठाएर र स्वदेश फर्केर देशको सेवा गर्छन् तर राज्यले लगानी गरेका पढेलेखेकाहरु भने विदेशमा गएर उतै बस्छन् । यो परिपाटीको अन्त्य हुनुपर्छ र सिकेको सीप र ज्ञान यही माटोका लागि योगदान दिनुपर्छ ।’
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले शैक्षिक योग्यता, सैद्धान्तिक ज्ञानले देश र समाजलाई योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले भक्तपुरलाई शिक्षाको हब बनाई शैक्षिक गन्तव्य बनाउनका लागि वागीश्वरी लागिपरेको बताउँदै वागीश्वरीले करिब करोड रुपैयाँको छात्रवृत्ति दिइरहेको र शैक्षिक ज्ञानसँगै अन्य सीपमुलक रोजगारमुलक तालिमहरु नन क्रेडिट कोर्सअन्तर्गत दिइरहेको जानकारी दिनुभयो ।
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जुनसुकै काम गरे पनि वागीश्वरी झल्किनुपर्ने धारणा राख्दै भोली समाजमा जे काम गरेपनि इमान्दारिता देखिनुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मानविकी संकायका प्रमुख राजन फेलुले स्वागत गर्नुभएको थियो । यसैगरी शिक्षक विनोद प्रजापति, विद्यार्थीद्वय भावना भँडेल र श्रृजना प्रजापतिले आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्यलगायतको प्रस्तुति गरेका थिए ।

वागीश्वरी कलेजको १३ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको प्रथम कलेज सभा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको १३ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको पहिलो कलेज सभा छुट्टाछुट्टै रुपमा मंसिर १० गते बुधबार सम्पन्न भयो । दुवै सभाको सभापतित्व कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै उहाँले निकै कठिन अवस्थाबाट गुज्रँदै वागीश्वरी कलेजले हालसम्म गरेको प्रगति हामी भक्तपुरवासीहरुकै लागि गौरव गर्न लायक भएको बताउनुभयो ।
दुवै कलेजले गरेको प्रगतिको लागि कलेज सभाका सम्पूर्ण सदस्यहरुको सहयोग सदा स्मरणीय रहने बताउँदै उहाँले वागीश्वरी कलेजको विधान संशोधन र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको नयाँ व्यवस्थापन समिति गठनमा दिएको सहमतिप्रति हार्दिक आभार पनि प्रकट गर्नुभयो ।
सभामा विशेष अतिथि बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले देश वर्तमान नाजुक अवस्थामा पुग्नुको सम्पूर्ण दोष राजनीतिक पार्टी र त्यसका नेताहरु मात्र नभर्ई प्राध्यापक, बुद्धिजीवी पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।
जे जस्तो भए पनि हामी आफूहरु जिम्मेवार बनौं भन्ने आग्रह गर्दै उहाँले विद्यार्थी नयाँ पुस्तालाई पनि देश, समाज र जनताप्रति जिम्मेवार बनाउने प्रयास गर्न आग्रह गर्नुभयो ।
त्यस्तै अर्का अतिथि भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने सोच साकार पार्न वागीश्वरी दुवै कलेजले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
सभामा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले कलेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभासदहरुले प्रस्तुत प्रतिवेदनमाथि टिका टिप्पणी गर्नुभएको थियो भने सुझावसहित पारित गरिएको थियो ।

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता

भक्तपुर । वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच विहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समभmदारी पत्रमा वागीश्वरी कलेजको तर्फबाट प्राचार्य धन कुमार श्रेष्ठ र कन्फ्युसियस इन्स्टिच्युट डा बाबुराम दुवालको हस्ताक्षर रहेको छ ।

त्रिभुवन विश्वविद्यालयमा रहेको कन्फ्युसियस इन्स्टिच्युट, पूर्वी चीन प्रविधि विश्वविद्यालय र चीनको छिंगहाई मिन्जु विश्वविद्यालयको संयुक्त सहयोगमा स्थापना भएको थियो। कन्फ्युसियस इन्स्टिच्युटले चिनियाँ भाषा शिक्षा प्रदान गर्ने, चिनियाँ भाषा पाठ्यक्रमहरू प्रदान गर्न नेपाली शैक्षिक संस्थाहरूलाई सहयोग गर्ने र द्विपक्षीय भाषिक तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।
भक्तपुरको क्यूएए प्रमाणित सामुदायिक कलेज, बागीश्वरी कलेज, शैक्षिक उत्कृष्टता र सामुदायिक सेवाको विश्वसनीय केन्द्रको रूपमा रहेको छ ।
४ वर्षका लागि मान्य हुने गरी गरिएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा अफिस अफ इन्टरनेसनल कोअपरेसन एन्ड एक्सचेन्जका उपनिर्देशक छेन योङ्गले सांस्कृतिक आदानप्रदान र भविष्यमा राम्रो सहकार्य र समन्वय हुने अपेक्षा गर्नुभयो । उहाँले यस समझदारीलाई मुर्त रुप दिनका लागि आफूहरुको पूर्ण साथ र समर्थन रहेको बताउनुभयो । चिनियाँ भाषा राम्रोसँग सञ्चालन हुनेमा विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगति भइ चिन र नेपालबीचको सम्वन्ध अझ दरिलो हुने धारणा राख्नुभयो ।
कलेज अफ इन्टरनेसनल एजुकेसनका विदेश मामिला अधिकृत चाओ यानुले सहकार्य गर्न पाएकोमा गर्व महसुस गर्दै चिंहाइ विश्वविद्यालयले ५० वटा विभिन्न विश्वविद्यालयसँग कार्य गरिरहेको बताउनुभयो । जातजाति र राष्ट्रियतासम्वन्धि अध्ययन हुने सो विश्वविद्यालयमा ३ हजारभन्दा वढी विद्यार्थीहरु अध्ययन गरिरहेको बताउनुभयो ।
कन्फ्युसियस इन्स्टिच्युटका निमित्त निर्देशक डा.बलराम दुवालले समझदारी पत्रले कन्फ्युसियस इन्स्टिच्युट र बागीश्वरी कलेजबीच पारस्परिक रूपमा लाभदायक सहयोग स्थापित गर्न खोजेको बताउनुभयो । समझदारी अनुसार चिनियाँ भाषा पाठ्यक्रमहरू, पाठ्यपुस्तकहरू, र शिक्षण सामग्रीहरूको विकास गर्नुका साथै बागीश्वरी कलेजमा विद्यार्थी र कर्मचारीहरूका लागि क्रेडिट र गैर–क्रेडिट चिनियाँ भाषा पाठ्यक्रमहरूको व्यवस्था सहित चिनियाँ भाषा शिक्षण बिन्दुको स्थापना गरिने जानकारी उहाँले दिनुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले समझदारीअनुसार चिनियाँ भाषा, संस्कृति, सामाजिक–राजनीतिक मुद्दाहरू, इतिहास, अर्थशास्त्र र सम्बन्धित विषयहरू परिचय गराउने गतिविधिहरू सञ्चालन गरिने जानकारी दिनुभयो । ।
यसैंगरी अनुसन्धान गतिविधिहरूमा सहकार्य गर्ने, बागीश्वरी कलेज र चिनियाँ विश्वविद्यालयहरू र संस्थाहरू बीच संस्थागत सम्बन्धको प्रवद्र्धन गर्ने उद्देश्य पनि समझदारी पत्रमा उल्लेख गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
बागीश्वरी कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिलेपहुँचयोग्य, किफायती र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने दृष्टिकोणका साथ स्थापित वागीश्वरी कलेजले आफ्ना विद्यार्थीहरूमा बौद्धिक विकास, नैतिक नेतृत्व र सामाजिक उत्तरदायित्व बहन गर्ने गतिविधिलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध संस्थाको रूपमा बागीश्वरी कलेजले समग्र विकासको लागि अनुकूल वातावरण सिर्जना गर्दै अगाडि वढ्ने क्रममा समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।
समझदारी हस्ताक्षर कार्यक्रममा नेसनल लाङ्गवेज कन्जर्भेसन एन्ड प्रोमोसन सेन्टरका प्रमुख लिऊ यानहोङ्ग, कलेज अफ इन्टरनेसनल एजुकेसनका संयोजक सुन फुलगायत चिनियाँस्थित विभिन्न विश्वविद्यालयका तङ्ग हाइसिया, सिन चिनमङ्ग, लाङ्ग चुनचे, तङ्ग छफाङ्ग, हान छुनमिङ्ग, सिया स्मङ्ग चियाङ्ग फिङ, छङ्ग चुइङ्गको उपस्थिति रहेको थियो ।
यसैंगरी वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, बागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद कर्माचार्य, मानविकि संकाय प्रमुख राजन फेलुलगायतको उपस्थिति रहेको थियो ।