वागीश्वरीमा एक दिने रचनात्मक समस्या समाधानका दृष्टिकोणसम्बन्धी कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा बीए, बीबीएस र बीबीएमा अध्ययनरत विद्यार्थीहरुका लागि शुक्रबार एक दिने रचनात्मक समस्या समाधानका दृष्टिकोणसम्बन्धी कार्यशाला सम्पन्न भयो । कार्यशालामा वागीश्वरी कलेजमै अध्ययनरत विद्यार्थी कृपा प्रजापति र पूर्वविद्यार्थी निष्ठा कायष्ठले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा वागीश्वरी माध्यमिक विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले समाधान विनाको समस्या नहुने र हामीमा हरेक समस्यालाई रचनात्मक ढङ्गले समाधान गर्न सक्ने क्षमता हुनुपर्ने बताउनुभयो । त्यसैगरी वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको इतिहासलाई सम्झँदै वागीश्वरी संस्था स्थापना गर्दा भोगेका समस्या र त्यसको रचनात्मक समाधानबारे जानकारी दिनुभयो ।

कार्यशाला गोष्ठीका प्रशिक्षकद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिको योजना विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई बीउ पूँजी समेत प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रममा वागीश्वरी कलेज मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले कार्यशालामा भाग लिएका ३० जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत ‘आइडिया पिचिङ्ग’ सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत ‘आइडिया पिचिङ्ग’ असार १४ गते बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा अतिथि विश्वविद्यालय अनुदान आयोग अनुसन्धान विभागका सहायक निर्देशक दिनेश प्रजापतिले उद्यमशील व्यवसायी सुरु गर्न नेपालमा भइरहेको आर्थिक तथा व्यवहारिक गतिविधिलाई अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यनारायण प्रजापतिले जसले जोखिम उठाउँछ उही उद्योगपति बन्छ भन्ने भाव व्यक्त गर्नुभयो । साथै सहभागी विद्यार्थीहरू तथा शिक्षकशिक्षिकाले प्रस्तुत गरेको योजनाहरू लघु उद्योग र घरेलु उद्योगमा राम्रो सम्भावना भएको र विद्यार्थीहरूले उद्यामशीलतासम्बन्धी थप अध्ययन गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।
२०७९ चैत्र २१ गतेदेखि वागीश्वरी कलेजले सञ्चालन गरेको ४० घण्टे उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा सहभागी विद्यार्थी तथा शिक्षकशिक्षिकालाई विभिन्न स्रोतव्यक्तिमार्फत उद्यमशीलतासम्बन्धी प्रशिक्षण दिँदै आएको थियो ।
जम्मा ३० जना सहभागी रहेको तालिममा १३ जना सहभागीले आ–आफ्नो आइडिया पिचिङ्ग गरेका थिए ।

विद्यार्थीहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने लक्ष्यका साथ विश्वविद्यालय अनुदान आयोगले उक्त कार्यक्रमको लागि सार्वजनिक प्रस्ताव आह्वान गरेकोमा वागीश्वरी कलेज समेत गरी १८ वटा कलेजहरू मात्र छनोट भएको थियो ।
विश्वविद्यालय अनुदान आयोगले उद्यमशील सहयोग कार्यक्रम मातहतमा सानो उद्यमीलाई ५ लाख रूपैयाँ, मझौला उद्यमीलाई २० लाख तथा ठूलो उद्यमीलाई ४० लाख रूपैयाँसम्मको बीउँ पूँजी प्रदान गरिने घोषणा गरेको थियो ।
साथै ‘आइडा पिचिङ्ग’ कार्यक्रममा सहभागीहरूको योजना छनोटका लागि निर्णायकहरूमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यनारायण प्रजापति, भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, भक्तपुर नगरपालिकाका प्रतिनिधि रामसुन्दर सुजखु, स्रोतव्यक्ति जस्मिन कर्माचार्य तथा वागीश्वरी कलेजका उपप्राध्यापक नविन प्रजापति रहनुभएको थियो ।
कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले निर्णायकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने वागीश्वरी कलेजका शिक्षक मंगलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।

वागीश्वरी कलेजमा युवा उद्यमशीलता कार्यक्रम

भक्तपुर– वागीश्वरी कलेज स्नातक तह बीबीएस प्रथम वर्षका विद्यार्थीहरुका लागि युवा उद्यमशील महिला सुनिता न्हेम्हाफुकीको उपस्थितिमा युवा उद्यमशील कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै मानिस कुनै न कुनै क्षेत्रमा संलग्न हुनुपर्नेमा अतिथि न्हेम्हाफुकीले जोड दिनुभयो ।
आफूलाई बढी भन्दा बढी काममा व्यस्त राख्ने उहाँ १८ वर्षको उमेरदेखि उद्यमशीलताको क्षेत्रमा कार्य सुरु गरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयमा पीएचडी तहमा अध्ययनरत उहाँले विद्यार्थीलाई टिकटक हेर्न, सामाजिक सञ्जाल चलाउनका लागि मात्र प्रविधिको प्रयोग नगरी उद्यमशीलताको विकासको लागि प्रविधिलाई अधिकतम उपयोग गर्न सकिने उहाँले बताउनुभयो ।
‘केहि नगर्नुस् तपाईँ जहाँको त्यही रहनुहुन्छ तर केही कदम अघि बढाउने प्रयास गर्नुस् पक्कै सफल बन्नुहुनेछ ।’ उद्यमी बन्न रुचि रहेका विद्यार्थीलाई आफूले सक्दो सहायता र अवसर प्रदान गर्ने प्रतिबद्धताका साथ उहाँले भन्नुभयो ।