अनिवार्य अवकाश प्राप्त शिक्षिका मैया मानन्धरको सम्मान तथा विदाई

भक्तपुर, ३ भाद्र २०७३ – विगत ३६ वर्षदेखि निरन्तर रूपमा वागीश्वरी उमाविमा अध्यापन गराई अनिवार्य अवकाश प्राप्त गर्नुभएका शिक्षिका मैया मानन्धरको हिजो बिहिबार सम्मान सहित विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी उमावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षिका मानन्धरलाई विद्यालयको तर्फबाट मायाको चिनोका साथै सम्मान पत्र प्रदान गर्नु भई शिक्षिका मानन्धरको योगदानको बारेमा भावनात्मक मन्तव्य राख्नुभएको थियो । आफूले विद्यालयमा पहिलो पाइला टेक्दा भेटेको व्यक्तित्व नै शिक्षिका मानन्धर भएकोले उहा“लाई सदैव आमाको रूपमा सम्झिने बताउनुभयो । जीवनको उर्जाशील समय मानन्धरले विद्यालयमै खर्चिनु भई विद्यालयलाई अमूल्य गुण लगाउनु भएको टिप्पणी ज्याख्वले गर्नुभयो । कार्यक्रमका विशेष अतिथि वि.व्य.स का सदस्य तथा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले शिक्षिका मानन्धरलाई अनुशासित र समयपालक शिक्षिकाको रूपमा चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले वागीश्वरी उमावि आजको स्थानमा आइपुग्न मानन्धरको अमूल्य योगदान रहेको बताउनुभयो । नेपाल आजको स्थानमा आइपुग्न भएको लोकतान्त्रिक आन्दोलनमा पनि नेक्राशिसंघको तर्फबाट शिक्षिका मानन्धरले गिरफ्तारी दिई अमूल्य योगदान गर्नुभएको घटनाको पनि प्रजापतिले सम्झना गर्नुभयो ।

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले हिजो जस्तै आगामी दिनमा पनि सक्रिय योगदान भइरहने अपेक्षा गर्नुभयो । शिक्षिका मानन्धरप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति वागीश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छाले कार्यक्रम समापन गर्नुभयो ।