भ्रष्टाचार र अनियमितता बन्द गराउन ख्वप विश्वविद्यालय

भक्तपुर, २५ कार्तिक २०७३– अयोग्य र अपरिपक्व डाक्टरले राम्रो उपचार गर्न सक्तैन । ठूला दलले त्यस्ता डाक्टर उत्पादन गर्ने मेडिकल कलेजको टिकाउका लागि विभिन्न नीति नियम ल्याएको छ । त्यसकारण नेपालमा भ्रष्टाचार र अनियमितता बन्द गराउन ख्वप विश्वविद्यालयको अवधारणा ल्याएको हो । उक्त भनाइ विहिवार सम्पन्न वागीश्वरी मा.वि.को अन्ठाउन्नौं र कलेजको नवौं वार्षिक उत्सवका अवसरमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं माननीय सांसद नारायणमान विजुक्छें(रोहित)ले बताउनुभएको हो । उहाँले कुनै पनि ठाउँमा भ्रष्टाचारको मूल जरो पत्ता लगाई प्रजातान्त्रिक प्रणालीबाट कार्य गर्नुपर्ने र पूँजीवादी व्यवस्थाले गरेका नराम्रो कुराबारे विद्यार्थीलाई राजनीतिक शिक्षा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एस.एल.सी., दश जोड दुई र स्नात्तकका स्वर्णपदक विजेताहरुलाई पदक तथा पुरस्कार र विद्यालयमा पच्चीस बर्षभन्दा बढी सेवा गरेबापतको दीर्घसेवा पदकबाट सम्मानित प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक दामोदर सुवाल र विशवराम प्रजापतिलाई प्रदान गर्दै पाठ्यक्रममा मात्रै सीमित नरही शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्ने र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले सिसाभित्रकोभन्दा पहाडमा हुर्केको विरुवाले जस्तोसुकै आँधी बेहोरीसँग पनि संघर्ष गर्न सक्ने भएकाले त्यस्तो विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक संस्थाको काम गर्ने शैली प्रजातान्त्रिक प्रणालीमा आधारित हुनुपर्ने नभए बिग्रिन्दै जाने बताउनुभयो । कार्यक्रममा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षाबाट देशभक्त विद्यार्थी तयार गर्न वि.सं. २०६४ बाट वागीश्वरी कलेजको स्थापना भएको र हाल स्नातक र स्नात्तकोत्तरमा सात सय बीस जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो ।

उहाँले देशको कुल बजेटको चौबीस प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरे शिक्षा क्षेत्र सम्पूर्णतः निःशुल्क बनाउन सक्ने बताउनुभयो । कक्षा ११ र १२ का विद्यार्थीलाई कक्षागत पुरस्कार प्रदान गर्दै उहाँले सबै क्षेत्र निजीलाई सुम्पेर समाजवादउन्मूख संविधानको कार्यान्वयन नहुने यसले नवउदारवादी नीतिलाई सुम्पिएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन मतपत्रसमेत विदेशमा छाप्नुपर्ने निर्वाचन आयुक्तको धारणाअनुसार नेपालमा विदेशीले मात्रै निर्वाचनको समय टोक्नसक्ने बताउनुभयो । त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगरले शिक्षा नियमावलीले निजी विद्यालय र शैक्षिक माफियाहरुलाई चलखेल गर्नदिएको र शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले भारतीय एकाधिकार पूजीलाई समेत फाइदा पुग्ने काम गरेको बताउनुभयो । साथै उहाँले पूजीवादी व्यवस्थामा भ्रष्टाचारको सीमा प्रचुर मात्रामा बढ्ने भएकाले समाजवादको आवश्यकता रहेको बताउनुभयो । शिक्षक र कर्मचारबीच भएको आन्तरिक व्याडमिण्टन प्रतियोगिताको पुरस्कार वितरण गर्दै उहाँले देशभक्त विद्यार्थी तयार पार्न यस विद्यालय र कलेजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । त्यस्तै जिल्ला शिक्षा कार्यालय, भक्तपुरका अधिकारी अर्जुन बहादुर रायमाझीले जिल्ला शिक्षा कार्यालय, भक्तपुरबाट प्राप्त गरिव तथा जेहेन्दार र दलित छात्रवृत्ति प्रदान गर्दै बाइस बुँदे कार्यक्रमलाई लागु गर्न जोड दिनुभयो ।

कार्यक्रममा वागीश्वरी अगुवा स्रोतकेन्द्रका विद्यालय निरिक्षक विमल प्रसाद निरौला, नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष चक्र बहादुर चाकतु, ख्वप कलेजका प्राचार्य रुपक जोशी, सार्वजनिक मा.वि. संयुक्त परीक्षा समितिका प्रतिनिधि अम्बिका न्याइच्याई, विद्यार्थी प्रतिनिधिहरु शेरफ मोक्तान, सम्झना गोसाईलगायतले विद्यालयको प्रगतिको कामना गर्नुभएको उक्त कार्यक्रममा कलेज प्राचार्य धनकुमार श्रेष्ठ र मा.वि. प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई सिद्धिबहादुर स्मृति अक्षय कोष छात्रवृत्ति, नारायणी छात्रवृत्ति, शिक्षक कर्मचारी छात्रवृत्ति कोषबाट छात्रबृत्तिसमेत विभिन्न अतिथिहरुबाट वितरण गरेका छन् । वार्षिकोत्सव मूल समारोह समितिका संयोजक विश्वराम प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रमको दोश्रो चरणमा विद्यार्थीहरुबाट साँस्कृतिक गतिविधिहरु प्रस्तुत गरेका छन् ।