कार्यकक्षमा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला सम्पन्न

जेठ १३, २०८१ आइतबार
0 प्रतिक्रिया

भक्तपुर । वागीश्वरी कलेज कमलविनायकको आयोजनामा यहाँ भइरहेको ‘कार्यकक्षमा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला’ जेष्ठ १२ गते शनिबार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त कार्यशालाको समापन समारोहमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले संसारभर नै मोबाइलको स्क्रिन टाइमले समाजलाई नै तनाब दिइरहेकोमा चिनियाहरुले स्क्रिनको विरुद्ध ग्रीन टाइमलाई जोड दिइरहेको चर्चा गर्दै तनाव व्यवस्थापन गर्न सामाजिक गतिविधि र प्रकृतिको समीपमा रहनुपर्नेमा जोड दिनुभयो ।


हाम्रा पुर्खाले धर्मकै नाममा भए पनि पहाड पर्वत र वनजङ्गलमा देवी देवता दर्शन गर्न जाने परम्परा बसालेको चर्चा गर्दै उहाँले आफ्नो तनाब नै सबभन्दा ठूलो तनाब नठानी पुर्खाले भृकुटीलाई तिब्बतमा विहे गरी पठाउँदा कस्तो तनाव व्यहोरे होला अनुमान गरौं भन्नुभयो । उहाँले भन्नुभयो– ‘भृकुटीले यात्रा गरेका मार्ग अहिले पछ्याउन सके एउटा ठूलो उपलब्धि हुन सक्छ ।’
तनाव व्यवस्थापन शिक्षक–विद्यार्थीहरुलाई मात्र नभई राजनीतिक नेता कार्यकर्ताहरुलाई पनि आवश्यक देखिएको उल्लेख गर्दै उहाँले प्रदेशका स्वास्थ्य मन्त्रीलाई स्कुल र कलेजहरुमा मनोपरामर्शदाता पठाउने व्यवस्था गर्न सुझाव दिएको जानकारी दिनुभयो । सोही क्रममा उहाँले भन्नुभयो– ‘अघिल्लो कार्यकालमा विद्यालय नर्सिङ सेवाको दिइएको सुझाव हाल प्रभावकारी ढङ्गले लागु भइरहेको देखिन्छ ।’
देशको राजनीतिक अवस्था बिग्रिँदा त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्दा धेरैलाई तनाव बढेको छ भन्दै उहाँले कोही पनि नेपाली तनाव मुक्त भएर बस्न नपाइएकोमा सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।
सामुहिक भावनाका साथ मिलेर काम गर्ने संस्कार बसाल्न सके तनाव न्यून गर्न सकिने चर्चा गर्दै उहाँले बौद्धिक र व्यावहारिक क्षमता बढाउने र प्रविधि मैत्री हुन सके तनाव थप न्यून हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक कलेजको अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले व्यवस्थापनको अभावमा देश सबै भएर पनि केही नभएको जस्तो भएर बस्नुपरेको अवस्थाको चित्रण गर्नुभयो । उहाँले भन्नुभयो– ‘मिहिनेती मान्छे कहिल्यै तनावमा पर्दैन जस्तोसुकै समस्या पनि हिम्मतका साथ समाधान गरेर अघि बढ्छ ।’
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेज अफ मानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र कार्यशालाका सहभागी काभ्रे बहुमुखी क्याम्पसका शिक्षक हरिकृष्ण बखुन्छेले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा स्रोतव्यक्तिद्वय डा. ऋषिराज बाराकोटी र उत्तम आचार्यलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरु ३१ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%