वागीश्वरी कलेजका विद्यार्थीहरूको सामुदायिक सर्वेक्षण सल्लेरी सोलुखुम्बुमा

चैत्र १५, २०८० बिहिबार
0 प्रतिक्रिया

सल्लेरी । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत मानविकी सङ्कायका विद्यार्थीहरूको चारदिने सामुदायिक सर्वेक्षण र जनचेतना कार्यक्रम चैत ९ देखि १२ गतेसम्म सोलखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरीमा सम्पन्न भयो ।

कार्यक्रमको तेस्रो दिन सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङको प्रमुख आतिथ्यमा समापन समारोह भएको थियो । उपप्रमुख तामाङले विद्यार्थीहरूले प्रत्यक्ष भोगेर सिकेको कुरा नबिर्सने बताउनुभयो । यसप्रकारको अध्ययन भ्रमण, सर्वेक्षण र जनचेतना कार्यक्रमले आफू प्रभावित भएको पनि खुसी व्यक्त गर्दै सोलुदुधकुण्ड नगरपालिकाले समुदायकै सहयोगमा विकासका कार्यहरू गर्दै आएको चर्चा गर्नुभयो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हमु शेर्पाले सोलुखुम्बु र भक्तपुरको सम्बन्धको प्रसङ्ग उठाउँदै सोलुखुम्बुको स्थानीय समुदायको अध्ययन गरेर वागीश्वरी कलेजका विद्यार्थीहरूको ज्ञानको दायरा फराकिलो हुनेमा विश्वास प्रकट गर्नुभयो ।
स्रोत व्यक्ति एवम् योङ स्टार कलब, दोर्पुका कार्यकारी निर्देशक दिपक राजभण्डारीले सल्लेरीमा कलेजका विद्यार्थीहरूको यस्तो प्रकारको पहिलो अध्ययन भ्रमण भएको जानकारी दिनुभयो ।
कार्यक्रममा विषय शिक्षक अविना श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रस्ट्याउनुभयो ।
चारदिने कार्यक्रम प्रशिक्षक मङ्गलेश्वर ध्वजूको सभापतित्वमा भएको थियो भने विद्यार्थी निगिसा कपालीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थी दिपिका अधिकारीले स्वागत गर्नुभएको थियो । विद्यार्थीहरू रेश्मा श्रेष्ठ, सृष्टता लवजू, भावना भडेल, सुवास तामाङले पनि बोल्नुभएको थियो ।
पहिलो दिन योङ स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ र स्रोतव्यक्ति दिपक राजभण्डारीले अभिमुखीकरणमार्फत सल्लेरीमा स्वागत गर्नुभएको थियो ।
दोस्रो दिन बिहानी सत्रमा सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी बजार क्षेत्रमा अध्ययन भ्रमणसँग नुम्बुर हिमालको मनोरम दृश्यको अवलोकन गरेको थियो । दोस्रो सत्रमा वडा नं. ४ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको कार्यकक्षमा स्वास्थ्य, शिक्षा, संस्कृति, विकास कार्य र चुनौती आदि विषयमा अन्तरक्रिया गरेको थियो । तेस्रो सत्रमा वडा नं. ५ स्थित जनजागृति नमुना माध्यमिक विद्यालयमा सामाजिक कार्यअन्तर्गत विद्यार्थीहरूले चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत कुटुम्व धुनमा नेवारी लाखे नाच र तामाङ सेलो पनि देखाएको थियो ।
सो विद्यालयका प्रधानाध्यापक जनक थापाले वागीश्वरी कलेजलाई धन्यवादसहित आफ्नो विद्यालयलाई पनि अध्ययन भ्रमणको लागि प्रोत्साहित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
चौथो सत्रमा विद्यार्थीहरूले वडा नं. ४ को वडाध्यक्ष युवास तामाङको कार्यक्रममा वडाको गतिविधि, प्रशासनिक गतिविधि, पर्यटन, शिक्षाबारे अन्तरक्रिया गरेको थियो । उक्त वडामा अवस्थित फाप्लु विमानस्थलको अध्ययन भ्रमणपश्चात् साँझ दिनभरीको समीक्षात्मक कार्यक्रममा विद्यार्थीहरूको ६ वटा समूहहरू दुधकुण्ड, भुकला, सगरमाथा लिखु, सिद्धिचरण र सल्लेरीले आ–आफ्ना प्रस्तुतीकरण दिएका थिए ।
तेस्रो दिनको बिहानी सत्रमा विद्यार्थीहरूले योङ स्टार क्लवमा पुगी क्लवको विगत, वर्तमान र भावी योजनाबारे अन्तरक्रिया गरेर सोलु एफएम १०१.२ मेगाहर्जको पनि स्टेसनमा पुगेर सामुदायिक एफएमको जानकारी लिए । दोस्रो सत्रमा विद्यार्थीहरूको ६ समूहले सल्लेरीको नयाँ बजारमा हरेक शनिबार लाग्ने हाटबजारको समग्र व्यवस्थापन, उपभोक्ता र व्यापारीको व्यवहार, स्थानीय जनतालाई परेको प्रभाव, स्थानीय उत्पादन, सुझाव र योजनाबारे सर्वेक्षण गरे ।
सोलुदुधकुण्ड नगरपालिकाको सभाकक्षमा समापन समारोहपश्चात् जिल्लाकै प्रसिद्ध चिवाङ्ग गुम्बाबाट दृश्यावलोकन गरेर अन्तिम सत्रमा समीक्षात्मक कार्यक्रम भयो ।
सामाजिक कार्य, ग्रामीण विकास, अङ्ग्रेजी र राजनीतिक शास्त्रका ३० जना विद्यार्थीहरूले सहभागिता जनाएको सो टोली चौथो दिनमा ओखलढुङ्गा, उदयपुर हुँदै सिन्धुलीको चैनपुर डाँडामा पुग्दा होली मनाएर काभ्रेपलाञ्चोक हुँदै कलेज फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%