वागीश्वरी कलेजको तीन दिने तथ्याङ्क विश्लेषण तालिम सम्पन्न

जेठ १६, २०७९ सोमबार
0 प्रतिक्रिया

भक्तपुर, १५ जेष्ठ । वागीश्वरी कलेजको आयोजनामा जेष्ठ १३ गतेबाट सुरु भएको तीन दिने तथ्याङ्क विश्लेषण तालिमको समापन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि निकायको सहयोग पाएपछि मात्र तालिमहरू सञ्चालन गर्ने मानसिकताबाट मुक्त भई आवश्यकताको आधारमा विभिन्न तालिमहरू सञ्चालन गर्न स्वचालित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
तालिम मात्र औपचारिकतामा सीमित राख्न नहुने विचार व्यक्त गर्दै उहाँले विभिन्न देशका विश्वविद्यालयहरूसँग समन्वय गरी विदेशी विद्यार्थी र प्राध्यापकहरूसँग गोष्ठी तथा सेमिनारको आयोजना गर्ने अपेक्षा राख्नुभयो ।
भत्ताको लागि संस्थाको मुख्य व्यक्ति हरेक तालिममा सहभागी हुने सरकारी मानसिकतालाई त्याग्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले तालिममा पालैपालो सबैलाई सहभागी गराउनुपर्छ भन्नुभयो । उहाँले थप्नुभयो, “संस्थाको मुख्य व्यक्तिले तालिमको नाममा संस्था छोड्दा जनताले दुःख पाउँछ ।”
गणतन्त्र स्थापनापछि धेरै राजाहरूको जन्म हुँदा बेरोजगारी, भ्रष्टाचार बढेको बताउँदै उहाँले छोटे राजाहरूले जनअपेक्षा पूरा गर्न नसकेको स्पष्ट पार्नुभयो ।
रेमिट्यान्समा भर परेको अर्थतन्त्रले देशलाई परनिर्भर बनाउने स्पष्ट पार्दै उहाँले सरकारले देशलाई आत्मनिर्भर बनाउन योजना तथा कार्यक्रम अगाडि ल्याउनुपर्छ भन्नुभयो ।
८ लाख जनतालाई गरिबीको रेखामाथि उठाउने भनाइ निराधार रहेको स्पष्ट पार्दे उहाँले १६ खर्ब व्यापार घाटा रहेको देशमा ५ वर्षमा व्यापार घाटा सन्तुलित राख्नेलगायतका बुँदाहरू उल्लेख गर्नु हास्यास्पद छ भन्नुभयो ।
सिंहदरवार नियन्त्रित सङ्घीयता मन्त्रीलाई चाकरी गराउने सोच भएको स्पष्ट पार्दै उहाँले बजेटमा स्थानीय तहको लागि सशर्त अनुदान स्वायत्तता र विकेन्दीकरणको सिद्धात विपरीत हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले जनताको सेवाको लागि आफ्नै लगानीमा अत्याधुनिक अस्पताल निर्माण गरिरहेकोमा बेवास्ता गर्ने र विना सहयोग बजेट फिज गर्ने प्रदेश सरकार वास्तवमा औचित्यहिन भएको बताउँदै उहाँले ख्वप अस्पताललाई १०० शैय्याको स्वीकृति दिन समेत आनाकानी गरिरहेकोमा आक्रोश पोख्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले ३ दिने तालिमबाट सिकेको सीप शिक्षकहरूले आगामी दिनमा विद्यार्थीहरूको लागि सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वविद्यालय अनुदान आयोगका धनकृष्ण प्रजापतिले कार्यक्रमलाई मात्र औपचारिकतामा सिमित राख्ने धेरै संस्थाहरू रहेको वर्तमान समयमा वागीश्वरी कलेजले धेरै मिहिनेतका साथ कार्यक्रम गरेको देख्दा विश्वविद्यालय अनुदान आयोग गौरवान्वित भएको बताउनुभयो ।
तालिममा स्रोतव्यक्तिहरू सह प्रा.डा. गोविन्द तामाङ, डा. गौतम महर्जन, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवाल, अर्जुन गैरे र नवीन प्रजापति रहनुभएको थियो ।
वागीश्वरी कलेज अनुसन्धान व्यवस्थापन एकाइका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्रोतव्यक्ति डा. बलराम दुवाल, प्रशिक्षार्थी सनिता मस्तारां, तालिम संयोजक विकल प्रजापतिलगायतले बोल्नुभएको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले सहभागी प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिममा ९ वटा कलेजहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%