वागीश्वरी कलेजको नवौँ कलेज सभा सम्पन्न

मंग्सिर २६, २०७८ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, २५ मङ्सिर । वागीश्वरी कलेजको नवौँ कलेज सभा साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन गरी सम्पन्न भएको छ । समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले पुनः काम गर्ने अवसर दिइएकोमा समितिकै तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।
विगत चौध वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिन थप व्यवस्थित ढङ्गले काम गर्ने प्रतिबद्धताका साथ भक्तपुरको शैक्षिक प्रगतिलाई बौद्धिक जगतले मिहिन रूपमा हेरिरहेको हुँदा हामीले आफूलाई सोही अनुरूप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो ।
कोरोना महमारीको बेला अक्सिजन अभाव हुँदा वागीश्वरी स्कुल र कलेजबाट सुरु भएको आर्थिक सहयोग सङ्कलन अन्ततः करोडौँ रकम सङ्कलन भई आज निःशुल्क रूपमा जनताले अक्सिजन पाइरहेको चर्चा गर्दै कलेजले पठनपाठनका अतिरिक्त जनताको थप सेवा गरेकोमा भनपाको तर्फबाट सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औंल्याउँदै उहाँले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनुभयो ।
आत्मनिर्भरता विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “सधैँ विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्वभाव धेरै हुन्छ ।”
अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै उहाँले अनुसन्धान आजको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने उहाँले बताउनुभयो ।
‘सरकारी नीति एउटै परिसरमा दृढता शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सिट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्दै छौँ । सरकार स–साना स्कुल मर्ज गर्न खोज्छ, हामी स साना स्कुललाई सबल बनाउन खोज्छौँ । यही हाम्रो विशेषता हो ।’ उहाँले भन्नुभयो ।
वागीश्वरी स्कुलले सिद्धिशारदा प्रावि र ब्रह्मचारिणी प्रावि सबल बनाए जस्तै अब गणेश मावि भार्वाचोले उदय प्राविलाई सबल बनाउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो ।
अब वागीश्वरी कलेजले भक्तपुर अन्य कलेजहरूसँग पनि सहकार्य गरी सिङ्गो भक्तपुरको शैक्षिक प्रगतिमा योगदान पु¥याउने प्रयास आगामी दिन गर्दै जाने पनि उहाँले प्रष्ट्याउनुभयो ।
सभामा संविधान सभासद् अनुराधा थापामगरले कलेजले देशभक्त नागरिक तयार गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा पनि अद्यावधिक गरिराख्नुपर्नेमा जोड दिँदै राष्ट्रघाती एमसीसीविरुद्ध सम्पूर्ण विद्यार्थीलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामुहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताउनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि विभिन्न चार ओटा प्रस्ताव पेश गर्नुभयो– पहिलो प्रस्तावमा कलेज व्यवस्थापन समिति साविकलाई कार्यकाल थप गर्ने, दोस्रो प्रस्ताव कलेज विधान पारित गर्ने, तेस्रो आगामी पाँच वर्षको रणनीतिक योजना पारित गर्ने र चौथौं २०७८÷०७९ को बजेटका साथै ०७७÷०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने ।
प्रस्तावित चारओटै प्रस्तावहरू आवश्यक संशोधनसहित सभाले पारित गरेको छ ।
सभामा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक ज्ञानसागर प्रजापति, सभाका सदस्यहरू डा. राजुभाइ त्यात, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवालले पनि विभिन्न सुझावहरू दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%