वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई शैलुङमा अध्ययन शिविर

पुष १२, २०७९ मंगलबार
0 प्रतिक्रिया

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत समाजशास्त्रका विद्यार्थीहरुको तीन दिने सामुदायिक अध्ययन शिविर दोलखाको शैलुङ गाउँपालिकाको ढुङ्गेबजारलाई केन्द्रविन्दु गरी सम्पन्न भएको छ ।
दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने दोरम्बा गाउँपालिकास्थित श्री शिवलिङ्गेश्वर मा.वि.मा विद्यालयका प्राधानाध्यापक खड्गबहादुर शाक्यले पानसमा दीप प्रज्जवलन गरी सुरु भएको शिविरमा उहाँले विकट मानिएको गाउँ शैलुङमा सामाजिक साँस्कृतिक पक्ष तथा समसामयिक विषयमा अध्ययन हुनुले विकट स्थानले पनि महत्व पाएको आभास दिलाएको कुरा प्रष्ट पार्नुभयो ।
आधुनिकताको नाममा गाउँका विद्यार्थीहरु शहर पसिरहेको सन्दर्भमा नगरका विद्यार्थीहरु गाउँतिर आई अध्ययन अवलोकन गर्न आउनु सह«ानीय पक्ष रहेको तथ्य औल्याउनुहुँदै उहाँले वागीश्वरी कलेजको अध्ययनले शैलुङको सकारात्मक परिवर्तनमा देन पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका सामाजशास्त्रका शिक्षिका सुशीला कमाचार्यले व्यवहारिक सिकाइ दीगो हुने र जीवन्त सिकाइले समाजमा व्यवहारिकता कायम गर्ने र समाजको एकतामा जोड दिने भएकोले सामुदायिक शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले सामुदायिक शिविरले दुई भूगोललाई सामाजिक र सांस्कृतिक रुपमा एक बनाउनमा मद्दत गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा शिक्षक अम्बर श्रेष्ठले कार्यक्रमको औचित्य प्रष्ट्याउनुहुँदै कार्यक्रम तालिका र योजनाबारे स्पष्ट पार्नुभएको थियो । प्रफुल कर्माचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रोशना सुवालले सञ्चालन, स्वागत सरिना दुमरुले गर्नुभएको थियो ।
शिविरको दोश्रो दिन प्रभातकालीन कार्यक्रम अन्तर्गत शैलुङ डाँडाको भौगोलिक, साँस्कृतिक तथा धार्मिक अध्ययनको लागि पदयात्रा कार्यक्रम सम्पन्न भयो भने दिवा सत्र अन्तर्गत शैलुङ्ग गाउँपालिकाको मेहेले फलाँटे, काँडे, चित्रे, बोटले, लहरे, वालसार्पा क्षेत्रमा दाइजो प्रथाले सिर्जित सामाजिक चुनौती र महिला हिंसाको परिवर्तित रूप शीर्षकमा सामाजिक सर्वेक्षण सम्पन्न गरेका थिए । उक्त अध्ययन क्षेत्रका २०० घरलाई नमुना छनौटको रूपमा लिइएको थियो । सोही क्रममा सहभागी विद्यार्थीहरुले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।

शिविरको तेश्रो तथा अन्तिम दिनको विहानी सत्रमा स्थानीय लालीगुराँस महिला समूहको सहयोगमा ‘पित्तृसत्तात्मक सोच, व्यवहार र सामाजिक परिणाम’ विषयमा अन्तरक्रिया सम्पन्न भयो । सो कार्यक्रममा संस्थाका अध्यक्ष दिलमाया तामाङले पित्तृसत्तात्मक सोच केही हदसम्म कायम रहेपनि पहिले भन्दा धेरै सुधार भएको बताउनुभयो । अर्का एक सहभागीले गाउँको महिलाहरुले उपचारको सुविधा नभएको कारण आफ्नो रोग लुकाउने गरेको कुरा बताएका थिए । बालविवाह तामाङ्ग समुदायमा बढ्नुको कारण भागी विवाह हुने गरेको कार्यक्रममा सहभागी सरिता तामाङ्गले बताइन् ।
सोही दिन सांस्कृतिक कार्यक्रम सहित शिविरको समापन गरिएको थियो । सो कार्यक्रमका शिक्षासेवी सुन्दर खड्काले वागीश्वर कलेजको शिविरले गाउँको शैक्षिक जगतमा एक ईट्टा थप्ने काम गरेको बताउनुभयो । ढुङ्गे सामुदायिक स्वास्थ्य इकाईका प्रमुख नागेन्द्र यादवले शिक्षालाई व्यवहारसँग जोड्ने शिविरको निरन्तरताको कामना गर्नुभयो । कलेजका प्राध्यापक सुशीला कर्माचार्यले विद्यार्थीहरु स्थानीय जनताहरुको माया र सहयोगबाट प्रभावित भएकोमा खुसी व्यक्त गर्नुभयो भने शिक्षक अम्बर श्रेष्ठले शिविरको सफलताका लागि सम्पूर्ण सहयोगीलाई धन्यवाद दिनुभयो । सो कार्यक्रममा सर्वेक्षणको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम कलेजका विद्यार्थीहरु र स्थानीय विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2 ६७%
0 ०%
0 ०%
0 ०%
1 ३३%
0 ०%