वागीश्वरी कलेजमा आ.व. २०८१/०८२ को बजेटबारे अन्तरक्रिया कार्यक्रम

जेठ २८, २०८१ सोमबार
0 प्रतिक्रिया

भक्तपुर, २६ जेठ । वागीश्वरी कलेज तुमचो व्यवस्थापन समितिको आयोजनामा सरकारद्वारा प्रस्तुत आ.व.२०८१/०८२ को बजेटबारे अन्तरक्रिया कार्यक्रम गरियो । वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले संविधानमा देश समाजवादउन्मुख भनिए पनि व्यवहार देश विदेशउन्मुख भएको बताउनुभयो ।
देशको युवा जनशक्ति विदेश पठाएर रेमिटेन्सको भरमा देश चलाउन खोज्नु सरकारको गलत नीतिको आलोचना गर्दै उहाँले देशका व्यापारघाटा धान्नै नसक्ने अवस्थामा पुगेको चर्चा गर्नुभयो ।
देश विदेशी वैशाखीमा अडेको बताउँदै उहाँले ७८ प्रतिशत बजेट केन्द्रमा केन्द्रित गरेको उदाहरणका साथ स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि देश आर्थिकरूपमा आत्मनिर्भर नभइकन राजनीतिकरूपमा मात्र स्वाधीन नहुने भन्दै उहाँले देशको अर्थतन्त्र भारतीय एकाधिकार पुँजीको कब्जामा गएकोमा आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “देशका प्रायः सबै उद्योगहरू भारतीय एकाधिकार पुँजीले कब्जामा लिइसकेको छ ।” “नेपालको जलविद्युत् भारतलाई सस्तोमा बेची भारतबाट महँगोमा पेट्रोलियम पदार्थ किन्ने हाम्रो देशको अर्थतन्त्र कसको हितमा छ ?” उहाँले प्रश्न गर्नुभयो ।
भारतीय एकाधिकार पुँजीको विषय पाठ्यपुस्तकमा नभए पनि विद्यार्थीहरूले जान्नैपर्ने सुझाव दिँदै उहाँले संसार पुँजीवादी र समाजवादी अर्थतन्त्रमा विभाजित भइरहेको अवस्थामा नेपालले अवलम्बन गरेको मिश्रित अर्थतन्त्र पनि वास्तवमा पुँजीवादी अर्थतन्त्र नै भएको दाबी गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले शासक दलका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र र जिल्लालाई बढी बजेट पारेको र कानुनअनुसार दिर्नैपर्ने बजेट पनि भक्तपुर नगरपालिकालाई बजेट नदिई विभेद गरेकोमा सरकारको आलोचना गर्नुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेटमा विनापूर्वाधारका अन्य विश्वविद्यालयको बारेमा चर्चा भए पनि ख्वप विश्वविद्यालयको बारे कुनै चर्चासम्म नगरेको हुँदा सरकार सस्तोमा स्तरीय शिक्षाको पक्षमा नरहेको प्रस्ट हुन्छ भन्नुभयो ।
अर्थशास्त्र विषयका शिक्षक मुरज दिदियाले बजेट सरसरती हेर्दा देश विकासतिर लम्किरहेको जस्तो देखिए पनि यथार्थमा देश ऋण लिएर सावाँ भुक्तानी गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षक एवं अर्थ पत्रकार पूर्णभक्त दुवाललसहित बीबीएस द्वितीय वर्षका विद्यार्थीहरू सुवास दुलाल, किङसाङ योञ्जन, राजकुमार बस्नेत र राजाराम तामाङले बजेटका विविध पक्षबारे छुट्टाछुट्टै प्रस्तुति दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%