वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सव सम्पन्न

फागुण १३, २०८० आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १० फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वागीश्वरी माध्यमिक विद्यालयको ६५ औँ, वागीश्वरी कलेजको १६ औँ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको प्रथम वार्षिकोत्सव समारोहको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सिद्धान्त र विचारबाट प्रभावित जनता आफ्नो विचारमा अडान लिनुपर्ने बताउँदै देशमा व्याप्त भ्रष्टाचार, अनियमितता आदिको विरोध गर्ने नयाँ पुस्ता देशलाई आवश्यक भएको बताउनुभयो ।
परीक्षामा खुकुलो पारिदिए देशद्रोहीहरू तयार हुने बताउँदै उहाँले अनुशासित र मेहनती विद्यार्थीहरू आफ्नो पद र मर्यादाअनुसार काम गर्न सक्षम हुने बताउनुभयो ।

उद्योगधन्दा तथा कलकारखानाहरू निजीकरणले गर्दा देशको आर्थिक अवस्था झन्झन् कमजोर हुँदै गएको बताउँदै उहाँले देशमा भएका ठुल्ठुला काण्ड र देशघाती सम्झौताहरूमा शासक दलहरूकै संलग्नता पुष्टि भइरहेको बताउनुभयो ।
पढे–लेखेका बुद्धिजीवीहरूले देशलाई घात गरिरहेको बताउँदै उहाँले युवाहरूलाई शिक्षा र रोजगारीको नाममा विदेश पठाउने चलखेलमा अन्तर्राष्ट्रिय षड्यन्त्र भइरहेको प्रस्ट पार्नुभयो ।
विद्यार्थीहरूलाई शैक्षिक र बौद्धिकरूपमा अगाडि बढाउन प्रेरित गर्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले एनजीओ तथा आइएनजीओहरू बुद्धिजीवी गुप्तचरको रूपमा परिचालित रहेकोतर्फ सजग हुनुपर्ने बताउनुभयो ।
आलोचना र आत्मलोचनाबाट भाग्ने होइन, त्यसको डटेर सामना गर्न विद्यार्थीहरूलाई सक्षम बनाउनुपर्ने बताउँदै उहाँले राजधानीकेन्द्रित विकास र सेवा सुविधाले काठमाडौँ उपत्यका प्रदूषित र अपराधको केन्द्र बन्दै गइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति, वागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोजगारीको निम्ति श्रमसँग जोडिएको शिक्षा आवश्यक भएको हुँदा राज्यले देशको आवश्यकताअनुसार राम्रो पूर्वाधारसहितको प्राविधिक शिक्षालय खोल्नु प्रभावकारी हुने बताउनुभयो ।
भक्तपुर नपाले सीटीईभीटीसँग हेल्थ एसिस्टेन्ट, रेडियोलोजिष्ट, फार्मेसीलगायतका विषयको कक्षा सञ्चालन गर्न स्वीकृति माग गरेको लामो समय भइसक्दा पनि अहिलेसम्म स्वीकृति प्राप्त नभएको बताउँदै उहाँले सक्षम कलेजहरूलाई कक्षा सञ्चालन गर्न सहज वातावरणको अवस्था सिर्जनामा सीटीईभीटीले आवश्यक समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने अनुमति पाए धेरै सस्तोमा पढाउने योजना रहेको बताउँदै उहाँले ख्वप इन्जिनियरिङ कलेजले राम्रा र क्षमतावान इन्जिनियरहरू उत्पादन गरेजस्तै चिकित्सकहरू पनि उत्पादन गर्ने उद्देश्य नपाको रहेको बताउनुभयो ।
भक्तपुरका कलेजहरूले गुणस्तरीय शिक्षाको साथै देशको सार्वभौमिकता र स्वतन्त्रताबारे पनि जानकारी दिने प्रयास गरिरहेको बताउँदै उहाँले देशको सार्वभौमिकता र स्वतन्त्रतामा आँच पुग्ने काम कहीँकसैबाट भए वागीश्वरीका शिक्षक र विद्यार्थीहरू जुनसुकै बेला त्यसको विरोधमा उत्रन तयारी अवस्था बस्नुपर्ने विचार राख्नुभयो ।
वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले वागीश्वरी मावि र कलेजले देश विकास, समाज उत्थान र समाजलाई सभ्य र सुसंस्कृत बनाउन यथोचित योगदान पु¥याइरहेको उल्लेख गर्दै सांस्कृतिक, शैक्षिक, साहित्य र प्रकाशनको क्षेत्रमा यस विद्यालयले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
मेहनती विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासले वागीश्वरीले आजको उचाइ प्राप्त गरेको चर्चा गर्दै उहाँले शिक्षालय सामूहिक प्रतिस्पर्धा गर्ने थलो हो र देशको लागि आवश्यक उत्कृष्ट विद्यार्थी उत्पादनमा विद्यालयले जोड दिनुपर्ने बताउनुभयो ।
नेपालमा हजारौँको सङ्ख्यामा एनजीओ र आइएनजीओहरू सञ्चालनमा रहेको बताउँदै उहाँले नेपालको शिक्षा, धर्म र स्वास्थ्य क्षेत्रमा लगानीको नाममा ती संस्थाहरूबाट आर्थिक चलखेलहरू भइरहेको बताउनुभयो ।
शासकहरूलाई बुँख्याचा बनाउन एनजीओ र आइएनजीओहरू उद्दत रहेको बताउँदै उहाँले भारतीय एनजीओ आइएनजीओहरूले नेपालको सार्वभौमिकता र सम्प्रभुतामाथि हमला गर्ने प्रयास भइरहेको बताउनुभयो ।
वागीश्वरी मावि सञ्चालन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी मावि स्थानीय जनताले अपनत्व गरेको र राजनीतिक नेतृत्वले मार्गनिर्देश गरेको शैक्षिक संस्था भएको बताउँदै वागीश्वरीले शैक्षिक पाठ्यक्रमको पठनपाठनसँगै विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पनि प्रशिक्षित गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूमा कलेज स्थापनादेखि हालसम्म ४१ हजार ७९८ जना विद्यार्थीहरू भर्ना भइसकेको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र वागीश्वरी कलेज तथा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य धनकुमार श्रेष्ठले विद्यालय र कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुई, नगर शिक्षा अधिकृत साधुराम फुँयाल, शिक्षक राजन लाखा, विद्यार्थी प्रतिनिधि छात्रा काजल थापा र छात्र सुवान सुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले २५ वर्ष सेवा प्रदान गर्नुभएका शिक्षक पियुषराज गोसाईलाई सम्मान र उत्कृष्ट शिक्षक र कर्मचारीहरूलाई पनि सम्मान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूद्वारा विद्यालय र कलेजका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा विद्यालयमा अध्यापनरत शिक्षकमार्फत ७३७ विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको थियो । औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रमहरू देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%