शिक्षकको मेहनतले विद्यार्थीलाई सफलता मिल्छ

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, ३० कार्तिक २०७४ । वागीश्वरी मा.वि.को उन्नान्साठीऔं र वागीश्वरी कलेजको दशौं वार्षिकोत्सव बिहीबार एक समारोहका साथ कलेज प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शिक्षक कर्मचारीहरूले भित्रैदेखि भावना राखेर काम गरे हरेक क्षेत्रमा विद्यार्थीहरूलाई सफलता मिल्ने बताउनुभयो । उहाँले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुको अर्थ विद्यार्थीलाई राजनीतिबाट टाढा राख्नु होइन, विद्यालय क्रान्तिको बारुदखाना भएकोले विद्यालयस्तरबाटै राम्रो राजनीति सिकाउनुपर्ने बताउनुभयो । उहाँले तल्लो वर्गका जनता र देशको सेवा गर्ने इमानदार नागरिक तयार गर्नुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान पूँजीवादी व्यवस्थाले देश बिगार्दै लाने भएकोले गरिब जनताको पहुँच हुने राम्रो मेडिकल कलेजसहितको विश्वविद्यालय स्थापनाका लागि सङ्घर्ष गरिरहेको स्पष्ट पार्नुभयो । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मा.वि.सम्म शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने र विश्व– विद्यालयसम्म निःशुल्क गर्नुपर्ने संविधानसभामा नेमकिपाले संशोधन पेश गर्दा पनि अन्य पार्टीले पारित गरिनदिनुले ठूला भनाउँदा पार्टीहरू शिक्षाविरोधी रहेको पुष्टि गर्नुभयो । उहाँले नेपाली युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्नेमा ती दलहरू वैदेशिक रोजगारीको नाममा बेचिनुपर्ने अवस्था ल्याएको बताउनुभयो । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले नीति निर्माण गर्ने ठाउँमा राम्रा मान्छे पुग्नका लागि वागीश्वरी हरदम प्रयासरत रहेको बताउनुभयो । उहाँले सस्तो, गुणस्तरीय शिक्षा प्रदान गरी देशभक्त नागरिक तयार गर्न हरेक पक्ष लाग्नुपर्ने र राम्रा मान्छे राजनीतिमा नआए गुण्डा र तस्करहरूकै राज हुने बताउनुभयो । उहाँले समाजवादउन्मुख संविधानले राज्यका स्रोत साधन राष्ट्रियकरण गर्दै लानुपर्नेमा सरकारले निजीकरण गरी उच्च शिक्षा साधारण जनताको पहुँचभन्दा टाढा लगेको बताउनुभयो । विद्यालय र कलेज निजी व्यक्तिको हातमा केिन्द्रकृत हुँदा सरकारी विद्यालय र कलेज धरापमा परेको स्पष्ट पार्नुभयो ।

सभापतिको आसनबाट बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षालाई नाफा कमाउने थलोको रुपमा विकास गर्न नहुने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई देश र जनताप्रति जिम्मेवार बनाउँदै लानुपर्ने र नगरलाई सफा सुन्दर बनाउन हरेक विद्यालयले एउटा सार्वजनिक स्थान, सम्पदा वा नजिकको पोखरी सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले विद्यालय र कलेजको भौतिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्न हरेक तहका शिक्षक, कर्मचारीहरूले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतास, पूर्व शिक्षिका नारायणी मानन्धर, संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याईच्याई, भक्तपुर जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले विद्यालय र कलेजको प्रगतिको शुभकामना दिनुभएको थियो । वार्षिकोत्सव समारोह समितिका संयोजक दामोदर सुवालले स्वागत गरेको उक्त कार्यक्रममा विद्यालय प्राचार्य कृष्णप्रसाद धन्छा र कलेज प्राचार्य धनकुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अतिथि, विशेष अतिथि एवं प्रमुख अतिथिबाट विद्यार्थीहरूलाई जिल्ला शिक्षा छात्रवृत्ति, सिद्धिबहादुर छात्रवृत्ति, नारायणी छात्रवृत्ति र शिक्षक कर्मचारी छात्रवृत्ति प्रदान गर्नुभएको उक्त कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलाप तथा कक्षागत प्रथम, द्वितीय र तृतीयलाई पुरस्कृत गर्नुभएको थियो । साथै कलेजका उत्कृष्ठ विद्यार्थी तथा उत्कृष्ठ शिक्षक कर्मचारीलाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा अन्तर विद्यालय कविता, कथा, निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका शिक्षकहरू धनेशराज राजोपाध्याय, रोजी चवाललगायतले बोल्नुभएको उक्त कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरूबाट सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%