समसामयिक परिस्थितिप्रति सचेत हुन र वैदेशिक हस्तक्षेपको प्रतिरोध क्षमता बढाउन आवश्यक

मंग्सिर १, २०८० शुक्रबार
0 प्रतिक्रिया

भक्तपुर – वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कलेज भवन उद्घाटन, दीपावली, नेपाल संवत ११४४ र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा नवागन्तुक विद्यार्थीहरूलाई स्वागत एवं सांस्कृतिक कार्यक्रम कार्तिक २४ गते शुक्रबार सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले पाठ्यक्रम–पाठ्यपुस्तकमा जति राम्रो बनाउने हो त्योभन्दा बढी राम्रो देश विदेशको परिस्थितिबारे जानकार बनाई विद्यार्थीलाई सचेत पारिराख्नुर्नेमा जोड दिनुभयो । देश र जनताको सेवा गर्ने भावनासहित देशभक्तिको चेत नभएमा हाम्रा विद्यार्थी नै भोलि हाम्रा विरोधी भएर निस्किन सक्छन्, त्यति बेला शिक्षकलाई पछुतो हुन सक्छ भन्दै उहाँले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध प्रतिरोधको क्षमता हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “त्यसैले हामीले अठार वर्ष पूरा गरेका हरेक युवालाई सैनिक तालिम अनिवार्य गर्नुपर्छ भनेर सरकारलाई धेरै वर्षदेखि सुझाव दिइराखेका हौं तर, सरकारले सुनिरहेको छैन ।”
कलेजको नयाँ भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै उहाँले निर्माणमा जोड दिएजस्तै जोगाउनमा पनि उत्ति नै ध्यान दिनुपर्छ भन्नुभयो ।
समारोहका सभापति कलेज व्यवस्थापन समिति अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेजले सस्तोमा स्तरीय शिक्षा प्रदान गर्दै निरन्तर प्रगति गरिरहेकोमा सन्तोष व्यक्त गर्दै कलेजमा नयाँ नयाँ विषय थप्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयले निजी कलेजहरूको दवावमा सामुदायिक कलेजलाई नया“ नया“ विषयको सम्बन्धन नदिएको खुलासा गर्दै उहाँले बढ्दो सङ्ख्यामा नेपाली विद्यार्थीहरू विदेसिनुमा विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरू नै दोषी छन् भन्नुभयो । हालै कार्यकाल पूरा गरेका त्रिविका उपकुलपतिले आफ्नो कार्यकालको एकतिहाइ समय तालाबन्द भोग्नु परेको भनी बताएबाट त्रिविको स्थिति छर्लङ्ग हुन्छ भन्दै उहाँले त्रिविका प्राध्यापकहरूले कन्सल्टेन्सीको रकम खाएकै कारण देशका १४४० कलेजमध्ये ५०० कलेज बन्दको स्थितिमा पुगेको हो भन्नुभयो । सरकारको एउटा गलत नीतिका कारण देशका २२८ नर्सिङ कलेज बन्द हुँदा नेपालको सीमावर्ती भारतीय क्षेत्रमा सयौं नर्सिङ कलेज पोसिएको बताउँदै उहाँले कृषि प्रधान देशमा कृषिमा विद्यार्थी अभाव हुनु विडम्बनापूर्ण छ भन्नुभयो ।
कार्यक्रमका अतिथि नेमकिपा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले एमसीसीका कारण देश अप्ठ्यारोमा पर्दै जाने निश्चित छ भन्ने कुरा हरेक क्षेत्रमा बढ्दो अमेरिकी हस्तक्षेपले पुष्टि गर्छ भन्दै नेपाली जनता यसमा सचेत नभए भोलि देशको अस्तित्व नै खतरामा पर्न सक्छ भनी सचेत पार्नुभयो ।
अमेरिकाको सहयोगमा इजरायलले विगत ३० दिनमा १० हजार प्यालेस्टिनी जनताको नरसंहार गरेको चर्चा गर्दै उहाँले इजरायलका प्रधानमन्त्री न्यतान्याहुले प्यालेस्टिनी अस्तित्व मेट्ने दुस्प्रयास गरेकै कारण वर्तमान युद्ध भएको हुँदा युद्धको जिम्मेवार इजरायल हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले अन्तर्राष्ट्रिय कर्तव्यबोध गरी राजधानीमा हालै प्यालेस्टिनी जनताको पक्षमा इजरायली फासीवादको विरुद्ध ठूलो जुलुस आयोजना गरेको चर्चा गर्दै उहाँले भन्नुभयो– अरूलाई परेको अन्यायको विरुद्ध आवाज नउठाए भोलि हामीलाई कसैबाट अन्याय भए कसले आवाज उठाउँछ ? भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो– ‘‘संसारका न्यायप्रेमी जनता युद्धको विरोधमा छ, स्वतन्त्र प्यालेस्टाइनको पक्षमा छ । यस्तो विषयमा पनि शिक्षक विद्यार्थी जानकार हुन आवश्यक छ ।’
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षा राज्यको दायित्व हो तर यहाँ शिक्षा किन्ने वस्तु बनाइएको छ, पैसा हुने र पैसा नहुने बीच शिक्षामा विभेद छ त्यसो हुनु हुँदैन भन्दै उहाँले वागीश्वरी स्कुलले आफ्नो वरिपरिका स्कुललाई पनि सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा वागीश्वरी मािवका प्रअ कृष्णप्रसाद धन्छाले विद्यालयको सङ्क्षिप्त प्रतिवेदन सुनाउनुभयो ।
कलेज भवन निर्माण उपभोक्ता एवं अनुगमन समितिका संयोजक ज्ञानसागर प्रजापतिले २०७६ साल मङ्सिर २१ गते शिलान्यास भई २०८० साल असार मसान्तसम्ममा भवन निर्माणमा पाँच करोड चौध लाख सन्तानब्बे हजार पाँच सय त्रिपन्न रूपैयाँ खर्च भएको विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार उक्त रकममध्ये बाग्मती प्रदेश, भक्तपुर नगरपालिका र विश्वविद्यालय अनुदान आयोगबाट दुई करोड अठहत्तर लाख सत्तासी हजार अन्ठानब्बे रूपैया र कलेजको आन्तरिक स्रोतबाट दुई करोड छत्तीस लाख दश हजार चार सय पचपन्न रूपैया खर्च भएको छ ।
प्रमुख अतिथि बिजुक्छेंले नवनिर्मित भवनको मूलढोकामा रिवन काट्नुका साथै ताम्रपत्र अनावरण गर्नुभएको थियो । मङ्गल धुनको पृष्ठमा भएको उक्त कार्यक्रमपछि कलात्मक पानसमा दीप प्रज्वलन गरी समारोह पनि उद्घाटन गर्नुभएको थियो ।
समारोहमा भवन निर्माणमा योगदान दिने इन्जिनियरद्वय गङ्गासागर प्रजापति र अमोद उलकलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरिएको थियो भने निर्माण व्यवसायीद्वय प्रदीप गौतम र नरेश त्वायनालाई पनि मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा भनपा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्य, विद्यार्थी पूर्णिमा प्रजापति र कार्यक्रमका संयोजक काजल थापाले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्तिक २४ गते नै वागीश्वरी मावि च्याम्हासिंहमा पनि नवागन्तुक विद्यार्थीहरूलाई स्वागत, दीपावली, नेपाल संवत् ११४४ र छठको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।
विव्यस अध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्य र प्रा.डा. सिद्धिवीर कर्माचार्यको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार विवरण गरिएको थियो ।
विद्यार्थी श्रीशा दिदियाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विव्यस छोरीमैया सुजखु, स.प्र.अ. उकेश सुवाल, कार्यक्रम संयोजक शिक्षक भानुभक्त हुमागाइँका साथै विद्यार्थी दुर्गा बस्नेतले पनि बोल्नुभएको थियो ।
कमलविनायक र च्याम्हासिंह दुवैतिर औपचारिक कार्यक्रमपछि सांस्कृतिक कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%