‘एक घर एक स्नातक’ को नारा सफल पार्न वागीश्वरी कलेजको भूमिका महत्वपूर्ण

मंग्सिर १९, २०८१ बुधबार
0 प्रतिक्रिया

भक्तपुर, १८ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिको प्रमुख आतिथ्यमा वागीश्वरी कलेजको बा¥हौँ कलेज सभा मङ्गलबार सम्पन्न भयो ।
सभाको सभापति समेत रहनुभएका प्रमुख अतिथि प्रजापतिले देशको विकृति, विसङ्गति र निराशाबिचमा भक्तपुरले सबैतिर आशाको सन्देश दिइरहेको चर्चा गर्दै वागीश्वरी कलेज र स्कूल पनि त्यसको एउटा उदाहरण भएको विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले मागेको ख्वप विश्वविद्यालय र वागीश्वरी कलेजले प्रक्रिया अघि बढाएको क्युएए उस्तै उस्तै जस्तो भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “जतिसुकै ढिलो भए पनि हामीले ख्वप विश्वविद्यालय पाउनेछौँ र वागीश्वरी कलेजले पनि क्युएए पाउने नै छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

भक्तपुरमा ‘एक घर एक स्नातक’ को नारा साकार पार्न खुलेका कलेजहरूमध्ये वागीश्वरी पनि एक भएको चर्चा गर्दै उहाँले वागीश्वरी कलेज अफ म्यानेजमेन्ट पनि खोलेको बताउनुभयो ।
यही मङ्सिर २८ देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको पूर्वअभ्यासको रूपमा वागीश्वरी स्कूल र कलेजहरूको आयोजनामा मङ्सिर २४ र २५ गते ‘वागीश्वरी महोत्सव’ सफल पार्न सम्बद्ध सबैबाट सक्रिय सहयोगको लागि अनुरोध गर्नुभयो ।
कुनै संस्थाको सफलताको लागि अरुभन्दा फरक ढङ्गबाट काम गर्ने प्रयास हुनुपर्छ भन्दै उहाँले वागीश्वरी महोत्सव र भक्तपुर महोत्सव त्यही कडीको रुपमा आयोजना हुने बताउनुभयो ।
भक्तपुर महोत्सवको उद्देश्य बाह्य पर्यटकलाई मात्र होइन आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने ध्येयले गर्न लागेको बताउँदै उहाँले हालै दक्षिण कोरियाका नेपालस्थित राजदूतले नगरपालिकामा आई गरेको भेटमा भक्तपुरले सम्पदा संरक्षण गरिरहेको कामको प्रशंसा गरेको बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले कुनै पनि संस्थाको प्रगतिको लागि विगतमा भए गरेका कामको समीक्षा हुनुपर्नेमा जोड दिँदै वागीश्वरी शैक्षिक संस्था अरुको लागि अनुकरणीय र नमुनालायक हुनुपर्छ भन्नुभयो ।
वागीश्वरीको सङ्ख्यात्मक र गुणात्मक लय मिलाएर अघि बढ्नुपर्ने र यसले वरपरका शैक्षिक संस्थाको समेत अभिभावक बन्नुपर्ने भन्दै उहाँले एक अर्काे प्रसङ्गमा भन्नुभयो, “स्वदेशमै कार्यरत युवाले गौरवका साथ देशको सेवा गरेको र विदेश गई दासतुत्य काम गर्ने युवाको तुलना नै हुनसक्दैन । देश एनजीओ र आईएनजीओका विदेशी दलालहरूले कमजोर पारिरहेका छन् । यसतर्फ सबै सचेत हुन आवश्यक छ ।”
सत्ताका मूल पक्ष नेपाली काङ्ग्रेस भारतको अनुमतिबिना चीनको बीआरआई ल्याउने पक्षमा नरहेको बताउँदै यदि त्यसो हो भने देश कसरी सार्वभौम हुन्छ भनी प्रश्न गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले त्रिविको चारवर्षे कोर्स ६ वर्ष लाग्नाले नेपाली विद्यार्थीको आकर्षण त्रिवितिर घट्दो छ भन्नुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदनका साथ कलेज व्यवस्थापन समितिको थप कार्यकाल कलेजको विधान संशोधनको जिम्मा व्यवस्थापन समितिलाई दिने प्रस्ताव पेस गर्नुभयो ।
प्राचार्य श्रेष्ठद्वारा प्रस्तुत प्रस्तावमाथि सभाका सदस्यहरू डा. राजभाइ त्यात, भानुभक्त हुमागाईलगायतले टीकाटिप्पणी गर्नुभएको थियो । कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
सभाले प्राचार्य श्रेष्ठद्वारा प्रतिवेदनका साथै कलेज व्यवस्थापन समितिका थप कार्यकाल र विधान संशोधनको जिम्मा कलेज व्यवस्थापन समितिलाई दिने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 १४%
1 १४%
1 १४%
1 १४%
1 १४%
1 १४%

Non Credit Course (Office Package) तालिम सञ्चालन हुनेबारे सूचना