वागीश्वरीमा स्नातक प्रथम वर्षका विद्यार्थीहरुलाई अभिमुखीकरण

भाद्र २०, २०८२ शुक्रबार
0 प्रतिक्रिया

भक्तपुर १९ भाद्र । वागीश्वरी कलेज कमलविनायकमा शैक्षिक सत्र २०८२ को स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । बीए, बीएएसडब्लु र बीबीएसमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कलेज व्यवस्थापन समितिका सदस्य एवं संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी स्कुल होस वा कलेज नमुना लायक शैक्षिक संस्था हुँदा सोही अनुरूप विद्यार्थीहरु पनि नमुना योग्य हुनुपर्नेमा जोड दिनुभयो ।
स्नातकको अर्थ शास्त्री भएकाले अबको पढाइ विद्यालय तहको भन्दा फरक हुने चर्चा गर्दै उहाँले अब विद्यार्थीहरु विगतमा जस्तो आलाकाँचा स्वभाव नहुने बरु पढाइप्रति अत्यन्त गम्भीर बन्ने अनुभव सुनाउनुभयो ।
विद्यार्थीले आर्जन गर्ने ज्ञान, सीप यही देशको लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाली युवा विदेसिदा देश युवाविहीन अवस्थामा पुग्नु अत्यन्त दुःखद विषय हो भन्नुभयो । उहाँले भन्नुभयो–‘आमाको काखभन्दा पराइको लाख ठूलो हुनै सक्दैन । हाम्रो पढाइ हाम्रै देश र समाजको लागि हुनुपर्दछ ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले विश्वविद्यालयीय शिक्षा अनुसन्धानमा जोड दिइने हुँदा विद्यार्थीहरुमा धैर्यको धेरै खाँचो हुन्छ, हडबडाउनु हुँदैन भन्नुभयो । अबको चार वर्ष समर्पित भएर पढाइमा लाग्न अनुरोध गर्दै उहाँले आफूले रोजेको विषय कसैले होच्याउँदैमा नहोचिने बरु आफ्नो विषयमा गौरव गर्न जान्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विहान कलेजमा पढ्ने विद्यार्थीले दिउँसो वागीश्वरी स्कुलको टेक्स कार्यक्रमका तालिमहरुमा सहभागी भए शैक्षिक योग्यताका साथै थप एउटा सिप पनि हुने सुझाव दिनुभयो । उहाँले भन्नुभयो – ‘यसवर्ष हामी पच्चीस जनाको बालविकास सहजकर्ता सम्बन्धी २४ महिने निःशुल्क तालिम सञ्चालन गर्दै छौँ, सहभागी हुन चाहनेले नाम दर्ता गर्नुहोला ।’
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा टीयु टपर बबिता ग्वाछाले पढ्ने तौर तरिका सहित वागीश्वरीमा आफू पढ्ढाका अनुभव सुनाउनुभयो ।
मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले पनि बोल्नुभएको सो कार्यक्रममा अध्ययनरत विद्यार्थीद्वय स्मृति कासुला र सविना बाडेले पनि बोल्नुभएको थियो भने नवआगन्तुक विद्यार्थीको तर्फबाट महेश बस्नेतले पनि बोल्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
1 १००%
0 ०%

स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति वितरण सम्बन्धी सूचना