वागीश्वरी कलेजको १३ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको प्रथम कलेज सभा सम्पन्न

मंग्सिर १२, २०८२ बिहिबार
0 प्रतिक्रिया

भक्तपुर । वागीश्वरी कलेजको १३ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको पहिलो कलेज सभा छुट्टाछुट्टै रुपमा मंसिर १० गते बुधबार सम्पन्न भयो । दुवै सभाको सभापतित्व कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै उहाँले निकै कठिन अवस्थाबाट गुज्रँदै वागीश्वरी कलेजले हालसम्म गरेको प्रगति हामी भक्तपुरवासीहरुकै लागि गौरव गर्न लायक भएको बताउनुभयो ।
दुवै कलेजले गरेको प्रगतिको लागि कलेज सभाका सम्पूर्ण सदस्यहरुको सहयोग सदा स्मरणीय रहने बताउँदै उहाँले वागीश्वरी कलेजको विधान संशोधन र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको नयाँ व्यवस्थापन समिति गठनमा दिएको सहमतिप्रति हार्दिक आभार पनि प्रकट गर्नुभयो ।
सभामा विशेष अतिथि बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले देश वर्तमान नाजुक अवस्थामा पुग्नुको सम्पूर्ण दोष राजनीतिक पार्टी र त्यसका नेताहरु मात्र नभर्ई प्राध्यापक, बुद्धिजीवी पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।
जे जस्तो भए पनि हामी आफूहरु जिम्मेवार बनौं भन्ने आग्रह गर्दै उहाँले विद्यार्थी नयाँ पुस्तालाई पनि देश, समाज र जनताप्रति जिम्मेवार बनाउने प्रयास गर्न आग्रह गर्नुभयो ।
त्यस्तै अर्का अतिथि भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने सोच साकार पार्न वागीश्वरी दुवै कलेजले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
सभामा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले कलेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभासदहरुले प्रस्तुत प्रतिवेदनमाथि टिका टिप्पणी गर्नुभएको थियो भने सुझावसहित पारित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति वितरण सम्बन्धी सूचना