वागीश्वरीमा दशैँ २०७८ को अवसरमा शुभकामना आदानप्रदान

अषोज २०, २०७८ बुधबार
0 प्रतिक्रिया

भक्तपुर– वागीश्वरी कलेज तथा वागीश्वरी माविको संयुक्त आयोजनामा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच बुधबार नजिकिँदै गरेको वडादशैँ २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वैदेशिक लगानीबाट पुग्ने क्षतिबारे चर्चा गर्दै विदेशीको भरमा हुने कुनै पनि संस्थाको प्रगति दिगो नहुने बताउनुभयो ।
सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी निकै न्यून र अपुग भएको बताउनुहुँदै उहाँले प्राध्यापक तथा कर्मचारीहरू पैसा कमाउने मानसिकता र व्यक्तिगत स्वार्थबाट माथि उठेर संस्थाको हित र उत्थानमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुरका विद्यार्थीहरूलाई यहीँ गुणस्तरीय शिक्षा आर्जन गर्ने वातावरण प्रदान गर्न जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरको पहिचान र गरिमा कायम गर्न स्थानीय जनताहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । स्नातकोत्तर तहका विद्यार्थीहरूमा अरुको थेसिस नक्कल गर्दै आफू उत्तीर्ण हुने गलत मानसिकता हावी हुँदै गइरहेको बताउनुहँदै उहाँले नजिकिँदै गरेको दशँको बिदाको समयको सदुपयोग गरी नयाँ नयाँ पुस्तक अध्ययन गरी सिर्जनशील काममा लाग्न प्रेरित गर्नुभयो ।
वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले स्वाभिमानलाई बन्धक राखेर पाइने कुनै पनि वैदेशिक सहयोग हामी दुत्कार्छौँ भन्नुहुँदै वागीश्वरीमा अनेक विदेशी सङ्घ संस्थाले अनेक प्रलोभन देखाउन आएका दृष्टान्त दिनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सामूहिक भावनाको विकासले संस्थालाई अगाडि बढाउन टेवा पुग्ने बताउनुहँदै वागीश्वरी कलेजले अनुसन्धानमा २६ लाख बजेट छुट्याउँदै आएको र विभिन्न विषयमा कार्यशाला गोष्ठीहरू पनि गर्दै आइरहेको बताउनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवाल, विज्ञान सङ्कायका भानुभक्त हुमागाइँ, वागीश्वरी मावि टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, वागीश्वरी कलेज व्यवस्थापन सङ्कायका प्रमुख बब्लुकुमार राउत र ग्याहेन्द्रप्रसाद दाहालले शुभकामना मन्तव्यका साथै आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 ५०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%