वागीश्वरीमा खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर, ८ पुस । वागीश्वरी कलेज र वागीश्वरी माविको संयुक्त आयोजनामा ‘वागीश्वरी खेलकुद प्रतियोगिता– २०७८’ पुष ६ देखि ८ गतेसम्म भएको ब्याडमिन्टन र फुटसल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।
ब्याडमिन्टन प्रतियोगितामा छात्रतर्फ किरण बस्नेत, रशि बासुकला, राज श्रेष्ठ र रसेन शिलाकार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रातर्फ सिवानी नखन, सरिता सुवाल, सुमि श्रेष्ठ र सरिता मास्के क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्यस्तै १६ वटा टिम सहभागी रहेको फुटसल प्रतियोगितामा सुजित धितालको नेतृत्वको टिम भेरी प्रथम, निरज तामाङ नेतृत्वको टिम भादगाउँ द्वितीय र सविन राई नेतृत्वको टिम कर्णाली तथा सविन बाला नेतृत्वको टिम सेती तृतीय हुन सफल भएका थिए ।
फुटसल प्रतियोगितामा निर्जल खत्री टप स्कोरर, नदिम भण्डारी उत्कृष्ट खेलाडी र नविन तामाङ उत्कृष्ट गोलरक्षक हुन सफल भएका थिए ।
उत्कृष्ट तथा विजयी सम्पूर्ण खेलाडीहरुलाई कलेजका प्राचार्य धनकुमार श्रेष्ठ तथा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन

भक्तपुर, ६ पुस । वागीश्वरी माध्यमिक विद्यालयबाट विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई मङ्गलबार बधाई एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले विश्वविद्यालय शिक्षाको प्रवेशद्वारमा पुगेका विद्यार्थीहरुले समाजको योगदानको निम्ति उद्देश्य, भावी योजना तय गर्न सक्यौ भने विषय छनोट गर्न सजिलो हुन्छ भन्नुभयो ।
आर्थिक रूपले सम्पन्न विद्यार्थीहरुले मात्र पढ्न पाउने नवउदारवादी शिक्षा नीतिबारे प्रष्ट पार्दै उहाँले हालै निर्वाचित चिलीका नवउदारवादविरोधी ३५ वर्षीय वामपन्थी नेता गाब्रियल बोरिकजस्तै विद्यार्थीहरुले व्यक्ति, परिवार, समाज र देशको हितमा निर्णय गर्न सक्ने तहको रूपमा स्नातक तहलाई बुझ्न र संवेदनशील हुन उहाँले अनुरोध गर्नुभयो ।
एमसीसीबारे विश्वविद्यालय तहमा पुग्ने विद्यार्थीहरुले जानकारी राखिएन भने देशले पछुताउनुपर्ने बताउँदै उहाँले नेपालको संविधानभन्दा माथि हुने, नेपालमा योजना लागू गर्न भारतको अनुमति चाहिने, योजनामा विवाद भए अमेरिकी अदालतको निर्णय लागू हुनेजस्ता शर्तहरु भएको एमसीसीसम्झौता नेपाल र नेपाली जनताको हितमा नरहेको स्पष्ट पार्नुभयो ।
विशेष अतिथि ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले प्राविधिक शिक्षाको महत्वबारे प्रष्ट पार्दै विद्यार्थीहरुले लक्ष्य लिएर अध्ययनलाई अगाडि बढाउन सकेको खण्डमा सफलता हासिल गर्न सकिने बताउनुभयो ।
गुणस्तरीय शिक्षा भक्तपुरको पहिचान भएको स्पष्ट पार्दै उहाँले शिक्षामा महिलाहरुको प्रस्तुती तथा उपस्थिति उत्कृष्ट र अनुकरणी छ भन्नुभयो ।
अतिथि वागीश्वरी माविका +२ संयोजक ज्ञानसागर प्रजापतिले कागजमा पाएको योग्यतालाई व्यवहारमा उतार्न सकेनौँ भने योग्यता कागजको खोस्टा सावित हुने बताउनुभयो ।
अग्रजहरुको पौरख र स्वाभिमानले गौरव अनुभूति गराएको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु पनि स्वाभिमानी हुनुपर्ने उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापकद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल, इन्चार्जहरु ग्याहेन्द्रप्रसाद दाहाल, भानुभक्त हुमागाई, निरु ताल्चाभडेल, कलेजका विद्यार्थी बबिता ग्वाछा, शिक्षा सङ्कायका उत्कृष्ट विद्यार्थी विवेक बुढाथोकी, विज्ञान सङ्कायका उत्कृष्ट विद्यार्थी यज्ञबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्याख्वले त्रिभुवन विश्वविद्यालयबाट बीबीएसमा नेपाल प्रथम हुन सफल वागीश्वरी कलेजका विद्यार्थी बबिता ग्वाछालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने विद्यालयका प्रअ धन्छाले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

वागीश्वरी कलेजमा युवा उद्यमशीलता कार्यक्रम

भक्तपुर– वागीश्वरी कलेज स्नातक तह बीबीएस प्रथम वर्षका विद्यार्थीहरुका लागि युवा उद्यमशील महिला सुनिता न्हेम्हाफुकीको उपस्थितिमा युवा उद्यमशील कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै मानिस कुनै न कुनै क्षेत्रमा संलग्न हुनुपर्नेमा अतिथि न्हेम्हाफुकीले जोड दिनुभयो ।
आफूलाई बढी भन्दा बढी काममा व्यस्त राख्ने उहाँ १८ वर्षको उमेरदेखि उद्यमशीलताको क्षेत्रमा कार्य सुरु गरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयमा पीएचडी तहमा अध्ययनरत उहाँले विद्यार्थीलाई टिकटक हेर्न, सामाजिक सञ्जाल चलाउनका लागि मात्र प्रविधिको प्रयोग नगरी उद्यमशीलताको विकासको लागि प्रविधिलाई अधिकतम उपयोग गर्न सकिने उहाँले बताउनुभयो ।
‘केहि नगर्नुस् तपाईँ जहाँको त्यही रहनुहुन्छ तर केही कदम अघि बढाउने प्रयास गर्नुस् पक्कै सफल बन्नुहुनेछ ।’ उद्यमी बन्न रुचि रहेका विद्यार्थीलाई आफूले सक्दो सहायता र अवसर प्रदान गर्ने प्रतिबद्धताका साथ उहाँले भन्नुभयो ।

वागीश्वरी कलेजको नवौँ कलेज सभा सम्पन्न

भक्तपुर, २५ मङ्सिर । वागीश्वरी कलेजको नवौँ कलेज सभा साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन गरी सम्पन्न भएको छ । समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले पुनः काम गर्ने अवसर दिइएकोमा समितिकै तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।
विगत चौध वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिन थप व्यवस्थित ढङ्गले काम गर्ने प्रतिबद्धताका साथ भक्तपुरको शैक्षिक प्रगतिलाई बौद्धिक जगतले मिहिन रूपमा हेरिरहेको हुँदा हामीले आफूलाई सोही अनुरूप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो ।
कोरोना महमारीको बेला अक्सिजन अभाव हुँदा वागीश्वरी स्कुल र कलेजबाट सुरु भएको आर्थिक सहयोग सङ्कलन अन्ततः करोडौँ रकम सङ्कलन भई आज निःशुल्क रूपमा जनताले अक्सिजन पाइरहेको चर्चा गर्दै कलेजले पठनपाठनका अतिरिक्त जनताको थप सेवा गरेकोमा भनपाको तर्फबाट सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औंल्याउँदै उहाँले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनुभयो ।
आत्मनिर्भरता विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “सधैँ विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्वभाव धेरै हुन्छ ।”
अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै उहाँले अनुसन्धान आजको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने उहाँले बताउनुभयो ।
‘सरकारी नीति एउटै परिसरमा दृढता शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सिट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्दै छौँ । सरकार स–साना स्कुल मर्ज गर्न खोज्छ, हामी स साना स्कुललाई सबल बनाउन खोज्छौँ । यही हाम्रो विशेषता हो ।’ उहाँले भन्नुभयो ।
वागीश्वरी स्कुलले सिद्धिशारदा प्रावि र ब्रह्मचारिणी प्रावि सबल बनाए जस्तै अब गणेश मावि भार्वाचोले उदय प्राविलाई सबल बनाउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो ।
अब वागीश्वरी कलेजले भक्तपुर अन्य कलेजहरूसँग पनि सहकार्य गरी सिङ्गो भक्तपुरको शैक्षिक प्रगतिमा योगदान पु¥याउने प्रयास आगामी दिन गर्दै जाने पनि उहाँले प्रष्ट्याउनुभयो ।
सभामा संविधान सभासद् अनुराधा थापामगरले कलेजले देशभक्त नागरिक तयार गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा पनि अद्यावधिक गरिराख्नुपर्नेमा जोड दिँदै राष्ट्रघाती एमसीसीविरुद्ध सम्पूर्ण विद्यार्थीलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामुहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताउनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि विभिन्न चार ओटा प्रस्ताव पेश गर्नुभयो– पहिलो प्रस्तावमा कलेज व्यवस्थापन समिति साविकलाई कार्यकाल थप गर्ने, दोस्रो प्रस्ताव कलेज विधान पारित गर्ने, तेस्रो आगामी पाँच वर्षको रणनीतिक योजना पारित गर्ने र चौथौं २०७८÷०७९ को बजेटका साथै ०७७÷०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने ।
प्रस्तावित चारओटै प्रस्तावहरू आवश्यक संशोधनसहित सभाले पारित गरेको छ ।
सभामा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक ज्ञानसागर प्रजापति, सभाका सदस्यहरू डा. राजुभाइ त्यात, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवालले पनि विभिन्न सुझावहरू दिनुभएको थियो ।

वागीश्वरी कलेजमा लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण

भक्तपुर, २४ मङ्सिर । वागीश्वरी कलेज स्नातक तह मानविकी सङ्काय बीए तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्यमा “३० औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम” अन्तर्गत लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
“घरैदेखि सुरु गरौँ महिलाविरुद्धको हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ मङ्सिर ९ गतेदेखि मनाउँदै आएको यस अभियानलाई सफल पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले विश्वका १० प्रतिशत युवाहरु कुलतमा फसेको जानकारी दिँदै युवाहरुलाई उच्च नैतिकता कायम गरी कुलतबाट बच्न अनुरोध गर्नुभयो ।
उहाँले लैङ्गिक हिंसाका दर्ता भएका मुद्दा, उजुरी, जरिवाना, कसुर, सजायको व्यवस्था, हिंसाका प्रकृति, कारण, बचावटको उपायको विषयमा तथ्याङ्कीय रूपमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।
विद्यार्थी रचना लवजूको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
विद्यार्थी सदिक्षा न्हेम्हाफुकीले स्वागत गर्नुभएको कार्यक्रममा विद्यार्थीहरू दिविना परियार, कृपा प्रजापति र रिक्का श्रेष्ठ महिला हिंसाको विषयमा बोल्नुभएको थियो ।

BSW Camp 2078 of Bagiswori College,Bhaktapur

वागीश्वरी कलेज स्नातक तह बीएसडब्लू प्रथम वर्षमा सामाजिक कार्य विषय लिई अध्ययनरत विद्यार्थीहरूको शिखरापुर सामुदायिक अध्ययन केन्द्रमा क्याम्पिङका केहि झलकहरु

वागीश्वरी मावि/कलेज सञ्चिति कोषको पाँचौ साधारण सभा सम्पन्न

भक्तपुर, ४ मंसिर । वागीश्वरी माध्यमिक विद्यालय/कलेज सञ्चिति कोषको पाँचौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जीवनभर कमाएको इज्जत मान, प्रतिष्ठा सानो कमजोरीले केही समयमै समाप्त हुनसक्ने कुरामा सचेत पार्दै सम्पूर्ण भक्तपुरवासीहरुको संयुक्त प्रयासले नै आज भक्तपुर नपा अरुको निम्ति नमुना हुन सफल भएको प्रस्ट पार्नुभयो ।
भक्तपुरबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुको सङ्ख्या र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको सङ्ख्या तुलना गर्दा भक्तपुरबाट उत्तीर्ण भएका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न भक्तपुरकै शैक्षिक संस्थाहरुलाई चयन गरेको आँकलन गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्ने भक्तपुरवासीको इच्छा विस्तारै पूरा हुँदै गएको उहाँले बताउनुभयो ।
न्यून आय भएका सम्पूर्ण भक्तपुरवासीका छोराछोरीहरुलाई उच्च शिक्षाबाट बञ्चित हुन नदिन भक्तपुर नपालगायत अरु शैक्षिक संस्थाहरुले वार्षिक करोडौं रुपैया छात्रवृत्ति प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नपा ९ नं. वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरीले व्यवस्था गरेको सञ्चिति कोषले वागीश्वरीलाई थप प्रगतिउन्मुख बनाउन उत्प्रेरकको भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी सामुदायिक संस्था भएकोले समुदायसँगको अन्तरक्रिया अत्यावश्यक भएकोतर्फ इङ्गित गर्दै विद्यार्थीहरुलाई स्थानीय संस्कृति, रहनसहनबारे जानकारी दिन शिक्षकहरुले चिन्तन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरुको विकास शैक्षिक गतिविधिहरुबाट मात्र पूर्ण नहुने भएकोले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि शिक्षकहरुले अतिरिक्त क्रियाकलापलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जग नै भवनको प्राण हुने भएकोले विद्यालयको जग प्रावि तहमा विद्यार्थीहरुको सङ्ख्याको साथै गुणस्तर बढाउनतिर ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
शिक्षण पेशा पैसाको प्यास मेटाउने पेशा नभइकन सम्मान, गौरवको पेशा भएकोले विद्यार्थी धेरै भएकोमा झर्को नमानी व्यवस्थित सेवा पु¥याउनतिर ध्यान जान आवश्यक छ भन्नुभयो ।
कोषका अध्यक्ष एवं वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन रायसुझावसहित पारित गरिएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापकद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल तथा शिक्षिका कविता प्रजापति, शर्मिला प्रजापतिले पनि बोल्नुभएको थियो ।