‘Qualitative and Quantitative Research’ विषयक तीनदिने कार्यशाला गोष्ठी सुरु

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘Qualitative and Quantitative Research’ विषयमा तीनदिने कार्यशाला गोष्ठीको असोज २२ गते शुक्रबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कार्यशाला गोष्ठीको सफलताको कामना गर्नुहुँदै विकसित देशहरुले विकासको नाममा नेपाललाई दिइरहेको सहायताले देशलाई परनिर्भरतातर्फ धकेलिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका शासक दलहरुलाई आफूअनुकुल प्रभावमा पार्नका साथै नेपालको गुप्त प्रतिवेदनहरु विदेश पु¥याउने काम गरिरहेका छन्, उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकतामाथि आँच पुग्ने देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुहुँदै नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसीसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको बताउनुभयो । उहाँले राम्रा विद्यार्थीहरु राजनीतिक गतिविधिमा संलग्न हुनुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाभित्र सञ्चालित कलेजहरु अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो ।
शेयर कारोबारले नेपाली लगानीकर्ताहरुलाई नराम्रोसँग डुबाउने खतरा भएको आंैल्याउनुहुँदै उहाँले पुँजीवादी व्यवस्थालाई समाप्त पारी समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेमकिपा लागिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुको गतिविधिले विकासको नाममा नेपालीलाई दास बनाइरहेको र देशलाई उपनिवेश बनाउने खतरा रहेको चर्चा गर्नुहुँदै उहाँले अरूको भरमा काम गर्ने मानसिकताले परनिर्भरतातर्फ धकेल्ने प्रष्ट पार्नुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले शिक्षण—सिकाइको क्रियाकलापमा अनुसन्धानको महत्वबारे प्रष्ट पार्नुहुँदै शिक्षक—कर्मचारीहरुले आफूमा भएको ज्ञान विद्यार्थीमार्फत उजागर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुसन्धानको महत्वलाई बुझेर वागीश्वरी कलेजले यस वर्ष रु. २६ लाख बजेट विनियोजन गरेको बताउनुहुँदै वागीश्वरीलाई अनुसन्धानको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने योजनाअनुरूप कलेजमा कार्यरत शिक्षकहरुलाई विभिन्न विषयमा कार्यशाला गोष्ठीहरुमा जोड दिइरहेको बताउनुभयो ।
वागीश्वरी कलेज आरएमसीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका उपप्राध्यापक राजन चौगुठीले पनि बोल्नुभएको थियो ।

वागीश्वरीमा दशैँ २०७८ को अवसरमा शुभकामना आदानप्रदान

भक्तपुर– वागीश्वरी कलेज तथा वागीश्वरी माविको संयुक्त आयोजनामा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच बुधबार नजिकिँदै गरेको वडादशैँ २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वैदेशिक लगानीबाट पुग्ने क्षतिबारे चर्चा गर्दै विदेशीको भरमा हुने कुनै पनि संस्थाको प्रगति दिगो नहुने बताउनुभयो ।
सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी निकै न्यून र अपुग भएको बताउनुहुँदै उहाँले प्राध्यापक तथा कर्मचारीहरू पैसा कमाउने मानसिकता र व्यक्तिगत स्वार्थबाट माथि उठेर संस्थाको हित र उत्थानमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुरका विद्यार्थीहरूलाई यहीँ गुणस्तरीय शिक्षा आर्जन गर्ने वातावरण प्रदान गर्न जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरको पहिचान र गरिमा कायम गर्न स्थानीय जनताहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । स्नातकोत्तर तहका विद्यार्थीहरूमा अरुको थेसिस नक्कल गर्दै आफू उत्तीर्ण हुने गलत मानसिकता हावी हुँदै गइरहेको बताउनुहँदै उहाँले नजिकिँदै गरेको दशँको बिदाको समयको सदुपयोग गरी नयाँ नयाँ पुस्तक अध्ययन गरी सिर्जनशील काममा लाग्न प्रेरित गर्नुभयो ।
वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले स्वाभिमानलाई बन्धक राखेर पाइने कुनै पनि वैदेशिक सहयोग हामी दुत्कार्छौँ भन्नुहुँदै वागीश्वरीमा अनेक विदेशी सङ्घ संस्थाले अनेक प्रलोभन देखाउन आएका दृष्टान्त दिनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सामूहिक भावनाको विकासले संस्थालाई अगाडि बढाउन टेवा पुग्ने बताउनुहँदै वागीश्वरी कलेजले अनुसन्धानमा २६ लाख बजेट छुट्याउँदै आएको र विभिन्न विषयमा कार्यशाला गोष्ठीहरू पनि गर्दै आइरहेको बताउनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवाल, विज्ञान सङ्कायका भानुभक्त हुमागाइँ, वागीश्वरी मावि टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, वागीश्वरी कलेज व्यवस्थापन सङ्कायका प्रमुख बब्लुकुमार राउत र ग्याहेन्द्रप्रसाद दाहालले शुभकामना मन्तव्यका साथै आ–आफ्नो धारणा राख्नुभएको थियो ।