क्यान्सर पीडित विद्यार्थीलाई आर्थिक सहयोग

भक्तपुर, १४ असार । वागीश्वरी कलेज कमलविनायकमा सामाजिक कार्य विषय लिई अध्ययनरत स्नातक तह दोस्रो वर्ष (२०७७ वाय्च) का विद्यार्थीहरूले कलेजका क्यान्सर पीडित एक विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । आफ्नै कक्षाका साथी लिभर र प्यानक्रियाजमा क्यान्सर भई उपचारको लागि काठमाडौं क्यान्सर केयर सेन्टर फैढोकामा भर्ना भइरहेको थाहा भएपछि सामाजिक कार्यका विद्यार्थीहरू आर्थिक सहयोगका लागि तत्पर भएका हुन् ।
सहयोगी विद्यार्थीहरूले कलेजमा अध्ययनरत विद्यार्थीहरू र अध्यापनरत शिक्षकहरूसँग आर्थिक सहयोग सङ्कलन गरी प्राचार्य धनकुमार श्रेष्ठसहितको टोली क्यान्सर केयर सेन्टरमा पुगी रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम ग्रहण गर्दै पीडित विद्यार्थीले सहयोगी सबैप्रति आभार प्रकट गरे भने टोलीले स्वास्थ्य लाभको कामना गरेको थियो । सहयोग रकम सङ्कलन गर्न काजल थापा, नम्रता रञ्जितकार र मालती पराजुलीलगायतका विद्यार्थीहरू सक्रिय भएका थिए ।

वागीश्वरी माविको ६३ औँ र वागीश्वरी कलेजको १४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले वागीश्वरी माविको ६३ औँ र वागीश्वरी कलेजको १४ औँ वार्षिकोत्सव कार्यक्रम चैत्र ४ गते आइतबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा अध्यक्ष बिजुक्छेँले वागीश्वरी माविका तीन जना शिक्षकहरू कृष्णप्रसाद कर्माचार्य, रेणुकामैंया प्रजापति र उकेश सुवाललाई दीर्घ सेवा सम्मान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले वागीश्वरीले गरेको सामूहिक कामकै कारण यसप्रति सबैको अपनत्व कायम रहेको र सबैले गौरवान्वित महसुस गरेको बताउनुभयो । विद्यालयहरूले असल र २१ औं शताब्दीको निम्ति योग्य बौद्धिक शक्ति तयार पार्न जोड दिनुपर्ने भन्दै उहाँले देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
संसारका हरेक लडाइँ तथा युद्धहरूमा साम्राज्यवादी र पुँजीपतिहरूको हात हुने गरेको चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले नेपालमा पनि अहिले पश्चिमा देशहरूको प्रभाव धेरै बढिरहेको छ भन्नुभयो ।
संयुक्त राज्य अमेरिकाले रुसको विरोधमा गरिरहेको लडाइँ विचार र सिद्धान्तको नभई आर्थिक प्रभावको युद्ध भएको बताउनुहुँदै उहाँले युक्रेन युद्ध हुनुमा संयुक्त राज्य अमेरिका नै दोषी भएको बताउनुभयो ।
नेपालमा एमसीसी पारित भएसँगै नेपाललाई पनि नाटो सङ्गठनको सदस्य बनाउन खोजिएको बताउनुहुँदै नेता बिजुक्छेँले युक्रेनको अहिलेको अवस्था आउनुमा दशकौँ अगाडिदेखिको अमेरिकाको साम्राज्यवादी नीति नै जिम्मेवार भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामुदायिक र निजी विद्यालयहरूबीच आपसी प्रतिस्पर्धा, गुणस्तरमा समानता ल्याउने प्रयत्न गरिएको बताउनुहुँदै शिक्षालाई स्तरीय र बलियो बनाउनुपर्छ भन्ने उद्देश्यले भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिकस्तरमा सुधारका प्रयासहरू भइरहेको बताउनुभयो ।
भक्तपुरको शैक्षिक स्थिति आजको अवस्थासम्म आउनुमा भक्तपुरका अगुवाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुहुँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले अध्ययन अनुसन्धानमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले विद्यालयहरूको भौतिक सुधारको लागि आवश्यक अनुदानको व्यवस्था गर्दै स्थानीय विषयमा पठनपाठनको लागि स्थानीय पाठ्यक्रमको समेत व्यवस्था गरिएको बताउनुहुँदै इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा पढ्ने विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले वागीश्वरीले हासिल गरेको सफलता र उपलब्धीहरू आगामी दिनहरूमा पनि सशक्त ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
महामारी वा कुनै प्रतिकुल अवस्थामा शिक्षा क्षेत्र प्रभावित हुन नहुने बताउनुहुँदै सांसद गोसाइँले शिक्षा क्षेत्रमा सरकारको उदासिनता देखिएकै कारण शिक्षा क्षेत्रले अपेक्षित ढङ्गले प्रगति गर्न नसकेको बताउनुभयो । उहाँले एमसीसीको ५५ अर्ब नेपालको लागि उपलब्धीमूलक नहुने बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले वागीश्वरीले असल र देशभक्त नागरिक जन्माउने अभिभारा बोकेको बताउनुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा वागीश्वरीले खेलेको भूमिका चर्चायोग्य भएको बताउनुभयो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनमा गरेको युद्ध र हस्तक्षेप आज संसारसामु नाङ्गिँदै गएको बताउनुहुँदै उहाँले रुसले नेटो सेनाविरुद्ध प्रतिकार गरेकै कारण आज यो अवस्था आएको बताउनुभयो ।
साथै वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी मावि तथा कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वागीश्वरी मावि सञ्चालक समितिका अध्यक्ष रबिन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी प्लस टुका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेजका तर्फबाट त्रिविका उत्कृष्ट विद्यार्थी बबिता ग्वाछा, विद्यार्थीहरू सुनिता दाहाल, सुजी ह्योङ्ग्वजु, शिक्षक राजन लाखा र मङ्गलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्छेँ (रोहित) ले कलेजको स्मारिका र जर्नलसमेत विमोचन गर्नुभएको थियो । साथै प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले उत्कृष्ट विद्यार्थी, कर्मचारी र भ्वाइस अफ वागीश्वरीका विजेताहरूलाई सम्मान गरेको थियो ।

वागीश्वरी कलेजको नवौँ कलेज सभा सम्पन्न

भक्तपुर, २५ मङ्सिर । वागीश्वरी कलेजको नवौँ कलेज सभा साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन गरी सम्पन्न भएको छ । समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले पुनः काम गर्ने अवसर दिइएकोमा समितिकै तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।
विगत चौध वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिन थप व्यवस्थित ढङ्गले काम गर्ने प्रतिबद्धताका साथ भक्तपुरको शैक्षिक प्रगतिलाई बौद्धिक जगतले मिहिन रूपमा हेरिरहेको हुँदा हामीले आफूलाई सोही अनुरूप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो ।
कोरोना महमारीको बेला अक्सिजन अभाव हुँदा वागीश्वरी स्कुल र कलेजबाट सुरु भएको आर्थिक सहयोग सङ्कलन अन्ततः करोडौँ रकम सङ्कलन भई आज निःशुल्क रूपमा जनताले अक्सिजन पाइरहेको चर्चा गर्दै कलेजले पठनपाठनका अतिरिक्त जनताको थप सेवा गरेकोमा भनपाको तर्फबाट सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औंल्याउँदै उहाँले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनुभयो ।
आत्मनिर्भरता विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “सधैँ विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्वभाव धेरै हुन्छ ।”
अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै उहाँले अनुसन्धान आजको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने उहाँले बताउनुभयो ।
‘सरकारी नीति एउटै परिसरमा दृढता शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सिट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्दै छौँ । सरकार स–साना स्कुल मर्ज गर्न खोज्छ, हामी स साना स्कुललाई सबल बनाउन खोज्छौँ । यही हाम्रो विशेषता हो ।’ उहाँले भन्नुभयो ।
वागीश्वरी स्कुलले सिद्धिशारदा प्रावि र ब्रह्मचारिणी प्रावि सबल बनाए जस्तै अब गणेश मावि भार्वाचोले उदय प्राविलाई सबल बनाउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो ।
अब वागीश्वरी कलेजले भक्तपुर अन्य कलेजहरूसँग पनि सहकार्य गरी सिङ्गो भक्तपुरको शैक्षिक प्रगतिमा योगदान पु¥याउने प्रयास आगामी दिन गर्दै जाने पनि उहाँले प्रष्ट्याउनुभयो ।
सभामा संविधान सभासद् अनुराधा थापामगरले कलेजले देशभक्त नागरिक तयार गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा पनि अद्यावधिक गरिराख्नुपर्नेमा जोड दिँदै राष्ट्रघाती एमसीसीविरुद्ध सम्पूर्ण विद्यार्थीलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामुहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताउनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि विभिन्न चार ओटा प्रस्ताव पेश गर्नुभयो– पहिलो प्रस्तावमा कलेज व्यवस्थापन समिति साविकलाई कार्यकाल थप गर्ने, दोस्रो प्रस्ताव कलेज विधान पारित गर्ने, तेस्रो आगामी पाँच वर्षको रणनीतिक योजना पारित गर्ने र चौथौं २०७८÷०७९ को बजेटका साथै ०७७÷०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने ।
प्रस्तावित चारओटै प्रस्तावहरू आवश्यक संशोधनसहित सभाले पारित गरेको छ ।
सभामा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक ज्ञानसागर प्रजापति, सभाका सदस्यहरू डा. राजुभाइ त्यात, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवालले पनि विभिन्न सुझावहरू दिनुभएको थियो ।

वागीश्वरी कलेजमा लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण

भक्तपुर, २४ मङ्सिर । वागीश्वरी कलेज स्नातक तह मानविकी सङ्काय बीए तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्यमा “३० औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम” अन्तर्गत लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
“घरैदेखि सुरु गरौँ महिलाविरुद्धको हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ मङ्सिर ९ गतेदेखि मनाउँदै आएको यस अभियानलाई सफल पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले विश्वका १० प्रतिशत युवाहरु कुलतमा फसेको जानकारी दिँदै युवाहरुलाई उच्च नैतिकता कायम गरी कुलतबाट बच्न अनुरोध गर्नुभयो ।
उहाँले लैङ्गिक हिंसाका दर्ता भएका मुद्दा, उजुरी, जरिवाना, कसुर, सजायको व्यवस्था, हिंसाका प्रकृति, कारण, बचावटको उपायको विषयमा तथ्याङ्कीय रूपमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।
विद्यार्थी रचना लवजूको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
विद्यार्थी सदिक्षा न्हेम्हाफुकीले स्वागत गर्नुभएको कार्यक्रममा विद्यार्थीहरू दिविना परियार, कृपा प्रजापति र रिक्का श्रेष्ठ महिला हिंसाको विषयमा बोल्नुभएको थियो ।

BSW Camp 2078 of Bagiswori College,Bhaktapur

वागीश्वरी कलेज स्नातक तह बीएसडब्लू प्रथम वर्षमा सामाजिक कार्य विषय लिई अध्ययनरत विद्यार्थीहरूको शिखरापुर सामुदायिक अध्ययन केन्द्रमा क्याम्पिङका केहि झलकहरु

वागीश्वरी मावि/कलेज सञ्चिति कोषको पाँचौ साधारण सभा सम्पन्न

भक्तपुर, ४ मंसिर । वागीश्वरी माध्यमिक विद्यालय/कलेज सञ्चिति कोषको पाँचौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जीवनभर कमाएको इज्जत मान, प्रतिष्ठा सानो कमजोरीले केही समयमै समाप्त हुनसक्ने कुरामा सचेत पार्दै सम्पूर्ण भक्तपुरवासीहरुको संयुक्त प्रयासले नै आज भक्तपुर नपा अरुको निम्ति नमुना हुन सफल भएको प्रस्ट पार्नुभयो ।
भक्तपुरबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुको सङ्ख्या र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको सङ्ख्या तुलना गर्दा भक्तपुरबाट उत्तीर्ण भएका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न भक्तपुरकै शैक्षिक संस्थाहरुलाई चयन गरेको आँकलन गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्ने भक्तपुरवासीको इच्छा विस्तारै पूरा हुँदै गएको उहाँले बताउनुभयो ।
न्यून आय भएका सम्पूर्ण भक्तपुरवासीका छोराछोरीहरुलाई उच्च शिक्षाबाट बञ्चित हुन नदिन भक्तपुर नपालगायत अरु शैक्षिक संस्थाहरुले वार्षिक करोडौं रुपैया छात्रवृत्ति प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नपा ९ नं. वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरीले व्यवस्था गरेको सञ्चिति कोषले वागीश्वरीलाई थप प्रगतिउन्मुख बनाउन उत्प्रेरकको भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी सामुदायिक संस्था भएकोले समुदायसँगको अन्तरक्रिया अत्यावश्यक भएकोतर्फ इङ्गित गर्दै विद्यार्थीहरुलाई स्थानीय संस्कृति, रहनसहनबारे जानकारी दिन शिक्षकहरुले चिन्तन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरुको विकास शैक्षिक गतिविधिहरुबाट मात्र पूर्ण नहुने भएकोले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि शिक्षकहरुले अतिरिक्त क्रियाकलापलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जग नै भवनको प्राण हुने भएकोले विद्यालयको जग प्रावि तहमा विद्यार्थीहरुको सङ्ख्याको साथै गुणस्तर बढाउनतिर ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
शिक्षण पेशा पैसाको प्यास मेटाउने पेशा नभइकन सम्मान, गौरवको पेशा भएकोले विद्यार्थी धेरै भएकोमा झर्को नमानी व्यवस्थित सेवा पु¥याउनतिर ध्यान जान आवश्यक छ भन्नुभयो ।
कोषका अध्यक्ष एवं वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन रायसुझावसहित पारित गरिएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापकद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल तथा शिक्षिका कविता प्रजापति, शर्मिला प्रजापतिले पनि बोल्नुभएको थियो ।

वागीश्वरीमा दशैँ २०७८ को अवसरमा शुभकामना आदानप्रदान

भक्तपुर– वागीश्वरी कलेज तथा वागीश्वरी माविको संयुक्त आयोजनामा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच बुधबार नजिकिँदै गरेको वडादशैँ २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वैदेशिक लगानीबाट पुग्ने क्षतिबारे चर्चा गर्दै विदेशीको भरमा हुने कुनै पनि संस्थाको प्रगति दिगो नहुने बताउनुभयो ।
सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी निकै न्यून र अपुग भएको बताउनुहुँदै उहाँले प्राध्यापक तथा कर्मचारीहरू पैसा कमाउने मानसिकता र व्यक्तिगत स्वार्थबाट माथि उठेर संस्थाको हित र उत्थानमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुरका विद्यार्थीहरूलाई यहीँ गुणस्तरीय शिक्षा आर्जन गर्ने वातावरण प्रदान गर्न जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरको पहिचान र गरिमा कायम गर्न स्थानीय जनताहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । स्नातकोत्तर तहका विद्यार्थीहरूमा अरुको थेसिस नक्कल गर्दै आफू उत्तीर्ण हुने गलत मानसिकता हावी हुँदै गइरहेको बताउनुहँदै उहाँले नजिकिँदै गरेको दशँको बिदाको समयको सदुपयोग गरी नयाँ नयाँ पुस्तक अध्ययन गरी सिर्जनशील काममा लाग्न प्रेरित गर्नुभयो ।
वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले स्वाभिमानलाई बन्धक राखेर पाइने कुनै पनि वैदेशिक सहयोग हामी दुत्कार्छौँ भन्नुहुँदै वागीश्वरीमा अनेक विदेशी सङ्घ संस्थाले अनेक प्रलोभन देखाउन आएका दृष्टान्त दिनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सामूहिक भावनाको विकासले संस्थालाई अगाडि बढाउन टेवा पुग्ने बताउनुहँदै वागीश्वरी कलेजले अनुसन्धानमा २६ लाख बजेट छुट्याउँदै आएको र विभिन्न विषयमा कार्यशाला गोष्ठीहरू पनि गर्दै आइरहेको बताउनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवाल, विज्ञान सङ्कायका भानुभक्त हुमागाइँ, वागीश्वरी मावि टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, वागीश्वरी कलेज व्यवस्थापन सङ्कायका प्रमुख बब्लुकुमार राउत र ग्याहेन्द्रप्रसाद दाहालले शुभकामना मन्तव्यका साथै आ–आफ्नो धारणा राख्नुभएको थियो ।