वागीश्वरी कलेजका विद्यार्थीहरूको सामुदायिक सर्वेक्षण सल्लेरी सोलुखुम्बुमा

सल्लेरी । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत मानविकी सङ्कायका विद्यार्थीहरूको चारदिने सामुदायिक सर्वेक्षण र जनचेतना कार्यक्रम चैत ९ देखि १२ गतेसम्म सोलखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरीमा सम्पन्न भयो ।

कार्यक्रमको तेस्रो दिन सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङको प्रमुख आतिथ्यमा समापन समारोह भएको थियो । उपप्रमुख तामाङले विद्यार्थीहरूले प्रत्यक्ष भोगेर सिकेको कुरा नबिर्सने बताउनुभयो । यसप्रकारको अध्ययन भ्रमण, सर्वेक्षण र जनचेतना कार्यक्रमले आफू प्रभावित भएको पनि खुसी व्यक्त गर्दै सोलुदुधकुण्ड नगरपालिकाले समुदायकै सहयोगमा विकासका कार्यहरू गर्दै आएको चर्चा गर्नुभयो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हमु शेर्पाले सोलुखुम्बु र भक्तपुरको सम्बन्धको प्रसङ्ग उठाउँदै सोलुखुम्बुको स्थानीय समुदायको अध्ययन गरेर वागीश्वरी कलेजका विद्यार्थीहरूको ज्ञानको दायरा फराकिलो हुनेमा विश्वास प्रकट गर्नुभयो ।
स्रोत व्यक्ति एवम् योङ स्टार कलब, दोर्पुका कार्यकारी निर्देशक दिपक राजभण्डारीले सल्लेरीमा कलेजका विद्यार्थीहरूको यस्तो प्रकारको पहिलो अध्ययन भ्रमण भएको जानकारी दिनुभयो ।
कार्यक्रममा विषय शिक्षक अविना श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रस्ट्याउनुभयो ।
चारदिने कार्यक्रम प्रशिक्षक मङ्गलेश्वर ध्वजूको सभापतित्वमा भएको थियो भने विद्यार्थी निगिसा कपालीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थी दिपिका अधिकारीले स्वागत गर्नुभएको थियो । विद्यार्थीहरू रेश्मा श्रेष्ठ, सृष्टता लवजू, भावना भडेल, सुवास तामाङले पनि बोल्नुभएको थियो ।
पहिलो दिन योङ स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ र स्रोतव्यक्ति दिपक राजभण्डारीले अभिमुखीकरणमार्फत सल्लेरीमा स्वागत गर्नुभएको थियो ।
दोस्रो दिन बिहानी सत्रमा सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी बजार क्षेत्रमा अध्ययन भ्रमणसँग नुम्बुर हिमालको मनोरम दृश्यको अवलोकन गरेको थियो । दोस्रो सत्रमा वडा नं. ४ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको कार्यकक्षमा स्वास्थ्य, शिक्षा, संस्कृति, विकास कार्य र चुनौती आदि विषयमा अन्तरक्रिया गरेको थियो । तेस्रो सत्रमा वडा नं. ५ स्थित जनजागृति नमुना माध्यमिक विद्यालयमा सामाजिक कार्यअन्तर्गत विद्यार्थीहरूले चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत कुटुम्व धुनमा नेवारी लाखे नाच र तामाङ सेलो पनि देखाएको थियो ।
सो विद्यालयका प्रधानाध्यापक जनक थापाले वागीश्वरी कलेजलाई धन्यवादसहित आफ्नो विद्यालयलाई पनि अध्ययन भ्रमणको लागि प्रोत्साहित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
चौथो सत्रमा विद्यार्थीहरूले वडा नं. ४ को वडाध्यक्ष युवास तामाङको कार्यक्रममा वडाको गतिविधि, प्रशासनिक गतिविधि, पर्यटन, शिक्षाबारे अन्तरक्रिया गरेको थियो । उक्त वडामा अवस्थित फाप्लु विमानस्थलको अध्ययन भ्रमणपश्चात् साँझ दिनभरीको समीक्षात्मक कार्यक्रममा विद्यार्थीहरूको ६ वटा समूहहरू दुधकुण्ड, भुकला, सगरमाथा लिखु, सिद्धिचरण र सल्लेरीले आ–आफ्ना प्रस्तुतीकरण दिएका थिए ।
तेस्रो दिनको बिहानी सत्रमा विद्यार्थीहरूले योङ स्टार क्लवमा पुगी क्लवको विगत, वर्तमान र भावी योजनाबारे अन्तरक्रिया गरेर सोलु एफएम १०१.२ मेगाहर्जको पनि स्टेसनमा पुगेर सामुदायिक एफएमको जानकारी लिए । दोस्रो सत्रमा विद्यार्थीहरूको ६ समूहले सल्लेरीको नयाँ बजारमा हरेक शनिबार लाग्ने हाटबजारको समग्र व्यवस्थापन, उपभोक्ता र व्यापारीको व्यवहार, स्थानीय जनतालाई परेको प्रभाव, स्थानीय उत्पादन, सुझाव र योजनाबारे सर्वेक्षण गरे ।
सोलुदुधकुण्ड नगरपालिकाको सभाकक्षमा समापन समारोहपश्चात् जिल्लाकै प्रसिद्ध चिवाङ्ग गुम्बाबाट दृश्यावलोकन गरेर अन्तिम सत्रमा समीक्षात्मक कार्यक्रम भयो ।
सामाजिक कार्य, ग्रामीण विकास, अङ्ग्रेजी र राजनीतिक शास्त्रका ३० जना विद्यार्थीहरूले सहभागिता जनाएको सो टोली चौथो दिनमा ओखलढुङ्गा, उदयपुर हुँदै सिन्धुलीको चैनपुर डाँडामा पुग्दा होली मनाएर काभ्रेपलाञ्चोक हुँदै कलेज फर्केका थिए ।

वागीश्वरीमा एक दिने रचनात्मक समस्या समाधानका दृष्टिकोणसम्बन्धी कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा बीए, बीबीएस र बीबीएमा अध्ययनरत विद्यार्थीहरुका लागि शुक्रबार एक दिने रचनात्मक समस्या समाधानका दृष्टिकोणसम्बन्धी कार्यशाला सम्पन्न भयो । कार्यशालामा वागीश्वरी कलेजमै अध्ययनरत विद्यार्थी कृपा प्रजापति र पूर्वविद्यार्थी निष्ठा कायष्ठले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा वागीश्वरी माध्यमिक विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले समाधान विनाको समस्या नहुने र हामीमा हरेक समस्यालाई रचनात्मक ढङ्गले समाधान गर्न सक्ने क्षमता हुनुपर्ने बताउनुभयो । त्यसैगरी वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको इतिहासलाई सम्झँदै वागीश्वरी संस्था स्थापना गर्दा भोगेका समस्या र त्यसको रचनात्मक समाधानबारे जानकारी दिनुभयो ।

कार्यशाला गोष्ठीका प्रशिक्षकद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिको योजना विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई बीउ पूँजी समेत प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रममा वागीश्वरी कलेज मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले कार्यशालामा भाग लिएका ३० जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर

वागिश्वरी कलेज, भक्तपुरमा स्तातक चौथों तहमा अध्ययनरत बिद्यार्थीहरुको चाँगुनारायण स्थित हेल्पिंग ह्यान्ड फेल्ट क्राफ्ट उद्योगमा अवलोकन कार्यक्रम सम्पन्न भयो |

घरकै सदस्यहरूबाटै रू ५० हजार लगानी गरी १५ वर्ष अघि शुरूवाट गरेको फेल्ट ब्यावसायले आज १०० भन्दा बढी महिलाहरूलाइ रोजगारी प्रदान गर्न सफल भएको उद्यमी राजु भडेलले बताउँनुभयो । साथै कुनै पनि काम सानो ठूलो नहुने बताउँदै इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर रहेको कुरामा जोड दिनु भयो ।

बिद्यार्थीहरूको जिज्ञासाको उत्सुकता मेटाउदै दिदै निरन्तर एकचित्त भइ लागेमा सफल हुने कुरामा निश्चिन्त रहन बिद्यार्थीहरूलाइ हौसला प्रदान गर्नुभयो । उद्योगका ब्यवस्थापक एवं युवा महिला उद्यमी रोशनी भडेलले भेडाको उनबाट हाल जुता, कि-रिङ, ब्यागलगायतका सामानहरूको उत्पादन गर्दै आएको र सोही कार्यलाइ भविष्यमा बिस्तारै गर्दै लैजाने लक्ष्य रहेको बताउँनुभयो ।

औद्योगिक अवलोकनले बिद्यार्थीहरुमा थप उर्जा दिने बताउदै अवलोकनको अवसर प्रदान गर्नुभएकोमा वागिश्वरी कलेजको तर्फबाट धन्यवादका साथ मायाको चिनो प्रदान गर्दै ब्यवस्थापन संकायका प्रमुख श्री बब्लु कुमार रावतले उद्योगलाइ बिदेशमा निर्यात मात्रै नगरी स्वदेशमै पनि बजार बिस्तार गर्न सकिने कुरामा जोड दिंदै यस्ता औद्योगिक अवलोकनले नवप्रबर्धन कार्य शुरू गर्न समेत प्रेरणा मिल्ने भएको बताउँनुभयो ।

न्यजिल्याण्डबाट भेडाको ऊन आयात गरि विभिन्न सामानहरु उत्पादन गरि पुन बिदेशमै निर्यात गर्दै आएको उक्त व्यवसायलाई राम्रो बजारीकरण गरि स्वदेशमै बिकी वितरण गर्न सकेमा नेपालीहरुलाई थप रोजगारीको सिर्जना गर्न सक्ने कुरामा कलेजका शिक्षक एवं औद्योगिक अवलोकनका संयोजक श्री दिनेश सुवालले बताउँनुभयो ।

कलेजका शिक्षकहरू चण्डेश्वरी लाखा, मिरा प्रजापति, राजकुमार कसपाल, बाबु कृष्ण के.सी. लगायतको उपस्थिति रहेको उक्त अवलोकन भ्रमणमा भेडाको ऊनको ब्यवसाय गर्ने शुरू गर्न कहाँबाट प्रेरणा मिल्यो भन्ने शिक्षक श्री नविन प्रजापतिको जिज्ञासामा आफु ललित कलाको बिद्यार्थी रहेको कारणले सोहि क्षेत्रमै केहि गरौँ भन्ने भित्रि इच्छाले प्रेरित भएको उद्यमी भडेलले बताउनुभयो ।