वागीश्वरी कलेजका स्नातक तहका विद्यार्थीहरुको शिविर नुवाकोटको लिखुमा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह दोस्रो वर्ष मानविकी सङ्कायका सामाजिक कार्यका विद्यार्थीहरुको तीन दिने सामुदायिक सिकाइ शिविर पुस ८ देखि १० गतेसम्म नुवाकोट जिल्लाको लिखु गाउँपालिकामा सम्पन्न भयो ।
शिविरको समापन कार्यक्रममा प्रमुख अतिथि लिखु गाउँपालिकाका प्रमुख ध्रुव श्रेष्ठले शिक्षा विकासको मेरुदण्ड भएकोले शिविरबाट प्राप्त व्यावहारिक शिक्षाले अध्ययनमा व्यापकता पाउँछ भन्नुभयो ।

विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि श्रेष्ठले वागीश्वरी मावि र कलेजले पा“च हजारभन्दा बढी विद्यार्थीहरुलाई शिक्षा दिइरहेको प्रसङ्गबाट आफू प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि सुवेदीले भोलीको समाजको योग्य नागरिक सामाजिक कार्यले टेवा पुग्ने भएकाले सबैले सामाजिक उत्ररदायित्व वहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

श्री जनज्ञान निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेले ऐतिहासिक जिल्ला नुवाकोटको अध्ययन भ्रमणबाट सिकेका कुरा शेयर गर्दा जीवन्तता पाउने कुरामा जोड दिनुभयो ।
शिविर संयोजक मङ्गलेश्वर ध्वजूको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्व स्रोतव्यक्ति महेश्वर पाण्डे, शिविरका स्रोतव्यक्ति एवं ज्योतिकुञ्ज एकेडेमीका प्रधानाध्यापक रवीन्द्र डंगोल, सामाजिक कार्यका विषय शिक्षक सुन्दर ग्वाछा, विद्यार्थीहरु जस्मिना विश्वकर्मा, सरिना बाडे, प्रवीण स्याङताङ, दिपिका न्यौपानेले पनि बोल्नुभएको थियो ।

शिविरमा विद्यार्थीहरुले स्काउट, योग, खेल, आत्मरक्षाका सीप तथा नृत्य आदि विषयमा प्रशिक्षण दिएका थिए भने शिक्षा, स्वास्थ्य स्थिति र पूर्वाधारलगायतका विषयमा सर्वेक्षण गरेका थिए । शिविरमा २४ जना विद्यार्थी र २ शिक्षक गरी जम्मा २६ जना सहभागी थिए ।

“लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज मानविकी तथा समाजशास्त्र सङ्कायको आयोजनामा स्नातक तह बीए/बीएएसडब्लु चौथो वर्षका विद्यार्थीहरुलाई लक्षित गरी “लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. कमलकुमार पौडेल र उपप्राध्यापक डा. कमलराज देवकोटा कार्यशालाका मुख्य स्रोतव्यक्ति रहनुभएको थियो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुले अध्ययन गरिएको सैद्धान्तिक ज्ञानलाई सरल तरिकाले प्रोजेक्ट वर्कमा प्रयोग गर्न यस कार्यशालाले सहज बनाउने जानकारी दिनुभयो ।
कार्यशालामा स्नातक तह बीए/बीएएसडब्लु चौथो वर्षको पाठ्यक्रममा रहेको अनुसन्धान रिपोर्टसम्बन्धी विद्यार्थीहरुलाई सहजीकरण गर्न उक्त कार्यशाला आयोजना गरिएको मानविकी सङ्कायका प्रमुख राजन फेलुले बताउनुभयो ।

जम्मा चार सेसनमा सम्पन्न उक्त कार्यशालाको पहिलो चरणमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा स्थानीय अनुसन्धान विषयलाई समेटेर लेखन कार्य गरिएको थियो भने दोस्रो चरणमा सोही विषयसँग सम्बन्धित अनुसन्धान लेखहरु खोजी समीक्षा गर्ने तरिका सिकाएका थिए ।

कार्यशालामा उपस्थित विद्यार्थी कवीर बुद्धाचार्यले कार्यशालाको आयोजना गर्नुभएकोमा कलेजप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको कार्यशालाले विद्यार्थीहरुको अनुसन्धान गर्ने विधिमा थप सहयोग पुगेको बताउनुभयो ।
कार्यशालाको समापन कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले कार्यशालामा उपस्थित विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै स्रोतव्यक्तिद्वय सहप्रा.डा. कमलकुमार पौडेल र उपप्रा.डा. कमलराज देवकोटालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका शिक्षिका अविना श्रेष्ठले पनि बोल्नुभएको थियो ।

वागीश्वरी मा.वि/कलेज सञ्चिति कोषको सातौं साधारण सभा सम्पन्न

भक्तपुर । वागीश्वरी मा.वि/कलेज सञ्चिति कोषको सातौं साधारण सभा २०८० कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख सुनिल प्रजापतिको आतिथ्यमा मङ्सिर २३ गते शनिबार सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि प्रजापतिले अरू कसैको सहयोगमा भन्दा पनि आफ्नै मिहिनेत परिश्रमबाट संस्थालाई नमुना बनाउने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

दक्षिण कोरियाले विदेश जाने नीति रोकेर त्यसको रकम उद्योगमा लगानी गरेर आज देश औद्योगिक मुलुक बनाएको उदाहरण दिँदै उहाँले २०७२ साल भूकम्पको बेलामा सकेसम्म आफ्नै पौरखले काम गर्दाको परिणाम अहिले अरूको लागि नमुनाको रूपमा देखिएको दृष्टान्त दिनुभयो । हाम्रो देश बनाउने दायित्व हाम्रै हो भन्ने भावना हामीमा हुनुपर्ने भन्दै उहाँले हामी नियमानुसार काम गर्छौं, जनतामा आधारित विकासलाई जोड दिन्छौं भन्नुभयो ।

सामुदायिक संस्था बिगारेर निजी संस्था पोस्ने विचार घातक रहेको चर्चा गर्दै उहाँले आर्थिक अनुशासन कडाइका साथ पालना गर्दै पारदर्शिता अँगालेर जनताको विश्वास जितेर अघि बढ्नुपर्ने बताउनुभयो ।
शिक्षक कर्मचारी मिहिनेती, परिश्रमी, अनुशासित भए मात्रै वागीश्वरी शैक्षिक संस्था राम्रो हुने चर्चा गर्दै उहाँले शिक्षक कर्मचारीहरू देशको आवश्यकताअनुसार भोलि राजनीतिमा आएर पनि देश र जनताको सेवा गर्नुपर्ने हुन सक्छ भन्नुभयो ।
नेपाली युवा जनशक्ति कुनै वस्तुतुल्य विदेश निर्यात गर्ने सरकारी नीतिको आलोचना गर्दै उहाँले अबको २० वर्षपछि यसको नकारात्मक नतिजा देशले भोग्नुपर्ने र त्यसबेला पछुताएर केही नहुने हुँदा आजै सचेत हुनुपर्ने बताउनुभयो ।
सरकारको गलत नीतिका कारण नेपाली काउली सस्तो हुँदा सडकमा फाल्नुपर्ने र भारतीय आयातित प्याज बजारमा महँगो भएको उल्लेख गर्दै आत्मनिर्भरतामा जोड दिन सुझाव दिनुभयो ।

अन्यत्र विद्यार्थीको अभावमा कलेज बन्दको स्थिति आएको उदाहरण दिँदै उहाँले विद्यार्थी नभए कर्मचारी शिक्षक पनि नचाहिने अवस्था आउन सक्छ यसतर्फ सबैको ध्यान जानुपर्छ भन्नुभयो ।
वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले आजको वागीश्वरी आजका शिक्षक कर्मचारीको मिहिनेतले मात्र बनेको नभई पूर्वजको योगदानलाई नबिर्सन आग्रह गर्नुभयो । सामुदायिक भावना, देशभक्त नागरिक उत्पादनको जिम्मेवारीबोध आजको आवश्यकता रहेको चर्चा गर्दै उहाँले शैक्षिक गुणस्तरमा विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो– “शैक्षिक गुणस्तर नै जनताको विश्वास जित्ने हाम्रो बलियो आधार हो ।”
सभामा +२ संयोजक ज्ञानसागर प्रजापतिले अनावश्यक खर्च जोगाउनु पनि आम्दानी भएकाले मितव्ययितामा ध्यान दिन सुझाव दिनुभयो ।

कोषका अध्यक्ष धनकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त सभामा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
शिक्षक विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको सभामा उपस्थित रमेश गोसाई, दिनेश प्रधान, सविन्द्र प्रजापतिलगायतले कोषको लागि विभिन्न सुझावहरू दिनुभएको थियो भने सभाध्यक्ष प्र.अ. कृष्णप्रसाद धन्छाले प्राप्त सुभावहरूमाथि कोष सञ्चालक समितिमा छलफल गर्ने र त्यसलाई विद्यालय व्यवस्थापन समितिले आफ्नो क्षमताअनुसार काम गर्ने विश्वास दिलाउनुभयो ।
सभाले रु. १ करोड १६ लाख १० हजार ५२८ रूपैयाको वित्तीय अवस्था रहेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो भने आगामी ३ वर्षको लागि धनकुमार श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय कोष सञ्चालक समिति पनि चयन ग¥यो ।

वागीश्वरी कलेजको एघारौँ कलेज सभा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज, तुमचो कमलविनायकको एघारौं कलेज सभा एक विशेष कार्यक्रमका साथ मङ्सिर १६ गते शनिबार सम्पन्न भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले कलेजको विधानअनुसार कलेजको सबभन्दा माथिल्लो निकाय कलेजसभा भएको उल्लेख गर्दै सभा सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
देशको शैक्षिक अवस्था गिर्दै धेरै कलेजहरु बन्दको अवस्था भए पनि वागीश्वरी कलेजमा अझै १२०६ जना विद्यार्थी अध्ययनत रहेको प्रतिवेदन पढ्न पाउँदा खुसी लागेको बताउँदै उहाँले हरेक प्रतिकूल परिस्थितिसित जो जुध्न सक्छ उही मात्र समयसँगै अघि बढ्न सक्छ भन्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समयमै ‘एक घर एक स्नातक’ को नारा उठाउनु, बेलैमा कलेजले जग्गा खरिद गर्नु, भवन निर्माण गर्नुलगायतका कामहरु समयअनुसार नै चालेका कदमहरु हुन् । यसले वागीश्वरीलाई अगाडि बढ्न धेरै मद्दत पु¥यायो । त्यसैले समयलाई सबैभन्दा बलबान भनिएको हो ।’
वागीश्वरीले पाठ्यपुस्तक र परीक्षामा मात्र उत्कृष्टता हासिल गर्ने नभई यहाँका हरेक विद्यार्थीलाई उतिकै असल र देशभक्त नागरिक बनाउन पनि सक्नुपर्ने आवश्यकतालाई जोड दिँदै उहाँले मिहिनेत परिश्रम गरेर सिक्ने संस्कार बसाल्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
देशको युवा जनशक्ति बिदेसिनु समस्याको समाधान होइन भन्दै उहाँले नेपाली युवालाई नेपालमै भविष्य खोज्न उत्साहित गर्नुपर्ने बताउनुभयो ।
देशको शिक्षा क्षेत्र बिग्रनुमा यहाँका उच्च अधिकारीहरु जिम्मेवार रहेको कुरा वागीश्वरीले बेलैमा विभिन्न विषय अध्यापनको लागि सम्वन्धन माग्दा सम्बन्धन दिन नमानेको बरु पदमा रहेको व्यक्तिबाटै निराशा व्यक्त भएको चर्चा गर्दै उहाँले त्रिभुवन विश्विद्यालयका उपकुलपतिसँग पछिल्लो समयमा भएको भेटघाटबारे जानकारी दिनुभयो ।
विश्वविद्यालयअनुसार आयोगबाट वागीश्वरीलाई अब क्यु.ए.ए. पाउने अपेक्षा गर्दै उहाँले वागीश्वरीको अनुभव अरुलाई पनि काम लाग्ने बताउनुभयो ।

सभामा वागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले देशको आर्थिक शैक्षिकलगायतको अवस्था मात्र नभई अन्तर्राष्ट्रिय परिस्थिति पनि उतिकै खराब अवस्थाबाट गुज्रिरहेको चर्चा गर्दै उहाँले यस्तो बेलामा देशका बुद्धिजीवीहरु मौन रहनु बौद्धिक दरिद्रताको प्रदर्शन हो भन्नुभयो ।
संसारभरका शान्तिप्रेमी युद्ध विरोधी जनता प्यालेस्टाइनमाथि अमेरिकाको सहयोगमा इजरायलले गरिरहेको आक्रमणको विरोधमा उठिरहेको बेलामा यहाँका बुद्धिजीवीहरु, शासक र प्रतिपक्ष दलका नेताहरु फुटकर विषयमा समय खर्चिरहेको बताउनुभयो ।
गणतन्त्रको विरुद्ध राजतन्त्र पुनस्थापनाको विषय जबरजस्ती उठाई नेपाली जनतालाई विषयान्तर गर्न खोजिएको बेलामा नेपाल मजदुर किसान पार्टीले युद्धविरोधी संसारको आवाजमा आवाज थप्न ललितपुरमा युद्धविरोधी जुलुस गरेको सन्दर्भ कोट्याउनुभयो ।
प्यालेस्टिनी आम बालबच्चा र महिलाहरुको हत्या भइरहेको अवस्थामा सामाजिक न्यायको लागि पनि प्राध्यापक, शिक्षक विद्यार्थी सबैले आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कलेज सभा सदस्य, पूर्व विद्यार्थी एवं वागमती प्रदेश सभा सदस्य सिर्जना सैजुले विद्यार्थीलाई पाठ्यक्रम र पाठ्पुस्तकमा मात्र सीमित गरेर असल र योग्य नागरिक बनाउन नसकिने आफ्नो अनुभव सुनाउँदै सं.रा. अमेरिका सिङ्गो संसारलाई आफ्नो नियन्त्रणमा राख्न अनेक प्रपञ्च गरिरहेको क्रा पाठ्यपुस्तकमा पाइँदैन भन्नुभयो ।
कुनै बेला बेलायत महाशक्ति थियो, त्यसपछि रुस महाशक्ति भएर उडायो, अहिले चीन महाशक्ति रुपमा उडाउँदै छ भन्दै उहाँले अमेरिका रुसलाई रोक्न युक्रेन युद्ध उचाल्दै छ भने मध्यपूर्वको इन्धन हात पार्न इजरायललाई उचालेर युद्ध भडकाउँदै छ, यसप्रति हामी सचेत हुनै पर्छ भन्नुभयो ।
नेपालको अर्थतन्त्र भारत निर्भर हुनु उतिकै खतरा हो भन्दै उहाँले देश उत्पादन शून्यको स्थितिमा पुग्न शासकहरुको गलत नीति र अकर्मण्यताको परिणाम हो, यसलाई विद्यार्थीसम्म प्रष्टयाउनुपर्ने दायित्व प्राध्यापकहरुको हो भन्नुभयो ।
सभामा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले देशको बौद्धिक एवं युवा जनशक्ति विदेश पलायन हुनु साह्रै चिन्ताको विषय हो भन्दै उहाँले त्यसलाई रोक्न यहाँ पनि ‘लर्न एण्ड अर्न’ (पढ्दै कमाउँदै)को नीति लागु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले कलेजमा विद्यार्थीहरु स्थानीय विभिन्न विषयमा अनुसन्धानमा लगाउन सके यहाँको आवश्यकता बोध हुनुका साथै विद्यार्थीहरुमा व्यावहारिक ज्ञान हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले कलेजको वार्षिक प्रतिबेदन (शैक्षिक, आर्थिक र भौतिक) प्रस्तुत गर्नुभएको थियो भने सभाले प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो ।
सभामा क्युएएसम्बन्धी स्वअध्ययन समूहका संयोजक विनोद प्रजापतिले क्युएएबारे हालसम्म भएका गतिविधिबारे जानकारी दिनुभएको थियो । सभामा परीक्षा संयोजक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।