वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरूको शिविर लमजुङको ताघ्रिङमा

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरूको चार दिने हिउँदे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडाँडामा सम्पन्न भयो ।
उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरू स्थापित जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुरबाट आएर छापाडाँडाको संस्कृति, भूगोल, इतिहास आदिबारे अध्ययन गरेकोले विद्यार्थीहरूलाई धन्यवाद दिँदै उहाँले श्री प्रेम मिलन माध्यमिक विद्यालय र वागीश्वरी माध्यमिक विद्यालयबीच भगिनी सम्बन्ध कायम गर्न सक्ने अभिलाषा व्यक्त गर्नुभयो ।
सो गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङले भक्तपुरका विद्यार्थीहरू र स्थानीय गुरुङ समुदायका विद्यार्थीहरूबीच मितेरी सम्बन्ध गाँसी गुरुङ संस्कृतिलाई जीवन्तता दिनुपर्ने बताउनुभयो ।
श्री प्रेम मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद गुरुङले ताघ्रिङलाई अध्ययन क्षेत्र बनाएकोमा खुशी प्रकट गर्दै लमजुङ जिल्ला भुगोलविद हर्क गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल हो भन्नुभयो ।
वागीश्वरी कलेजका सामाजिक कार्यका शिक्षक एवं सभापति मंगलेश्वर ध्वजूले भक्तपुर र लमजुङ जिल्लाको समानताबारे चर्चा गर्दै सामाजिक कार्य शिविरको महत्व र उद्देश्यबारे पनि प्रष्ट्याउनुभयो ।


कलेजका शिक्षक सुन्दर ग्वाछाले सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो । सुनौलो आमा समूह, आम जनसमुदायको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरू भावना भडेल, दिपिका अधिकारी, स्पर्णिमा थापा, मिलन श्रेष्ठ, रेश्मा श्रेष्ठ, मेनका ब्याञ्जु, निगिसा कपालीलगायतले बोल्नुभएको थियो ।
शिविरको पहिलो दिन आमा समूह र विद्यालयले शिविरमा सहभागीहरूलाई भव्य स्वागत गरेको थियो । सो कार्यक्रममा टोल संयोजक शेरबहादुर गुरुङ, आमा समूहका मनिता गुरुङ, जेष्ठ नागरिक गोपाल गुरुङले शिविरको सफलताको कामना गर्नुभयो । जम्मा चौध घरधुरीमा विद्यार्थीहरू होम स्टेमा बसेका थिए ।
शिविरको दोस्रो दिन प्रधानाध्यापक कुलप्रसाद गुरुङले लमजुङ जिल्लाको परिचय दिनुभयो । पाँच समूहमा विभाजित विद्यार्थीहरूले ६० घरधुरीलाई नमुना छनौट गरी स्वास्थ्य, शिक्षा, यातायात, आर्थिक अवस्था र सामाजिक समस्याबारे सामाजिक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणपश्चात् आमा समूहका पदाधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई शैलुङमा अध्ययन शिविर

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत समाजशास्त्रका विद्यार्थीहरुको तीन दिने सामुदायिक अध्ययन शिविर दोलखाको शैलुङ गाउँपालिकाको ढुङ्गेबजारलाई केन्द्रविन्दु गरी सम्पन्न भएको छ ।
दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने दोरम्बा गाउँपालिकास्थित श्री शिवलिङ्गेश्वर मा.वि.मा विद्यालयका प्राधानाध्यापक खड्गबहादुर शाक्यले पानसमा दीप प्रज्जवलन गरी सुरु भएको शिविरमा उहाँले विकट मानिएको गाउँ शैलुङमा सामाजिक साँस्कृतिक पक्ष तथा समसामयिक विषयमा अध्ययन हुनुले विकट स्थानले पनि महत्व पाएको आभास दिलाएको कुरा प्रष्ट पार्नुभयो ।
आधुनिकताको नाममा गाउँका विद्यार्थीहरु शहर पसिरहेको सन्दर्भमा नगरका विद्यार्थीहरु गाउँतिर आई अध्ययन अवलोकन गर्न आउनु सह«ानीय पक्ष रहेको तथ्य औल्याउनुहुँदै उहाँले वागीश्वरी कलेजको अध्ययनले शैलुङको सकारात्मक परिवर्तनमा देन पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका सामाजशास्त्रका शिक्षिका सुशीला कमाचार्यले व्यवहारिक सिकाइ दीगो हुने र जीवन्त सिकाइले समाजमा व्यवहारिकता कायम गर्ने र समाजको एकतामा जोड दिने भएकोले सामुदायिक शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले सामुदायिक शिविरले दुई भूगोललाई सामाजिक र सांस्कृतिक रुपमा एक बनाउनमा मद्दत गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा शिक्षक अम्बर श्रेष्ठले कार्यक्रमको औचित्य प्रष्ट्याउनुहुँदै कार्यक्रम तालिका र योजनाबारे स्पष्ट पार्नुभएको थियो । प्रफुल कर्माचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रोशना सुवालले सञ्चालन, स्वागत सरिना दुमरुले गर्नुभएको थियो ।
शिविरको दोश्रो दिन प्रभातकालीन कार्यक्रम अन्तर्गत शैलुङ डाँडाको भौगोलिक, साँस्कृतिक तथा धार्मिक अध्ययनको लागि पदयात्रा कार्यक्रम सम्पन्न भयो भने दिवा सत्र अन्तर्गत शैलुङ्ग गाउँपालिकाको मेहेले फलाँटे, काँडे, चित्रे, बोटले, लहरे, वालसार्पा क्षेत्रमा दाइजो प्रथाले सिर्जित सामाजिक चुनौती र महिला हिंसाको परिवर्तित रूप शीर्षकमा सामाजिक सर्वेक्षण सम्पन्न गरेका थिए । उक्त अध्ययन क्षेत्रका २०० घरलाई नमुना छनौटको रूपमा लिइएको थियो । सोही क्रममा सहभागी विद्यार्थीहरुले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।

शिविरको तेश्रो तथा अन्तिम दिनको विहानी सत्रमा स्थानीय लालीगुराँस महिला समूहको सहयोगमा ‘पित्तृसत्तात्मक सोच, व्यवहार र सामाजिक परिणाम’ विषयमा अन्तरक्रिया सम्पन्न भयो । सो कार्यक्रममा संस्थाका अध्यक्ष दिलमाया तामाङले पित्तृसत्तात्मक सोच केही हदसम्म कायम रहेपनि पहिले भन्दा धेरै सुधार भएको बताउनुभयो । अर्का एक सहभागीले गाउँको महिलाहरुले उपचारको सुविधा नभएको कारण आफ्नो रोग लुकाउने गरेको कुरा बताएका थिए । बालविवाह तामाङ्ग समुदायमा बढ्नुको कारण भागी विवाह हुने गरेको कार्यक्रममा सहभागी सरिता तामाङ्गले बताइन् ।
सोही दिन सांस्कृतिक कार्यक्रम सहित शिविरको समापन गरिएको थियो । सो कार्यक्रमका शिक्षासेवी सुन्दर खड्काले वागीश्वर कलेजको शिविरले गाउँको शैक्षिक जगतमा एक ईट्टा थप्ने काम गरेको बताउनुभयो । ढुङ्गे सामुदायिक स्वास्थ्य इकाईका प्रमुख नागेन्द्र यादवले शिक्षालाई व्यवहारसँग जोड्ने शिविरको निरन्तरताको कामना गर्नुभयो । कलेजका प्राध्यापक सुशीला कर्माचार्यले विद्यार्थीहरु स्थानीय जनताहरुको माया र सहयोगबाट प्रभावित भएकोमा खुसी व्यक्त गर्नुभयो भने शिक्षक अम्बर श्रेष्ठले शिविरको सफलताका लागि सम्पूर्ण सहयोगीलाई धन्यवाद दिनुभयो । सो कार्यक्रममा सर्वेक्षणको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम कलेजका विद्यार्थीहरु र स्थानीय विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

वागीश्वरी कलेजमा लैङ्गिक हिंसाविरुद्ध कार्यक्रम सम्पन्न

भक्तपुर, २३ मङ्सिर । वागीश्वरी कलेज मानविकी सङ्कायको आयोजनामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत महिला र बालबालिका विरुद्ध हुने हिंसा रोक्न ऐक्यबद्धता नाराका साथ विविध शिर्षकमा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भयो ।
“व्यक्तित्व विकासमा समान अवसर नपाउञ्जेलसम्म हिंसा अन्त्य हुँदैन । समाजमा व्याप्तअसमानताले नै हिंसा उत्पन्न हुन्छ ।” कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवं कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सो भनाई राख्नुभयो ।
वैदेशिक रोजगारले पनि हिंसालाई बढावा दिइएको चर्चा गर्दै नयाँ पुस्ताले नै हिंसाको अन्त गर्नुपर्ने प्रजापतिले बताउनुभयो ।
स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरुले लैङ्गिक हिंसा, दोस्रो वर्षका विद्यार्थीहरुले यौन हिंसा र साइबर अपराध शिर्षकमा प्रस्तुतीकरण गरेका थिए ।
मानविकी सङ्कायका इञ्चार्ज राजन फेलुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सामाजिक कार्य प्रथम वर्षका विद्यार्थी किशोर बस्नेतले स्वागत गर्नुभएको थियो साथै व्यवस्थापन सङ्कायका रिया सुवाल, मानविकी सङ्कायका दिपेन मानन्धर, कृपा प्रजापति, विनोद राजवंशी, तेन्जिङ डोल्मा लामा, प्रणिता अधिकारी, गौरव लामिछानेलगायतका विद्यार्थीहरुले बोल्नुभएको थियो ।

वागीश्वरी कलेजको दशौं कलेज सभा सम्पन्न

भक्तपुर, २० मङ्सिर । वागीश्वरी कलेजको दशौं कलेज सभा मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रगतिसँगै शत्रु बढ्ने भएकोले कमीकमजोरीलाई निरुत्साहित गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
जे गर्छ अब भक्तपुरले गर्छ भन्ने जनताको विचारलाई देशव्यापी बनाउन नेमकिपाले देशको अधिकांश जिल्लामा उम्मेदवारी दिँदा कसैको विरोध नभएको स्पष्ट पार्नुभयो ।
नेमकिपाले भक्तपुरमा अवलम्बन गर्दै आएको समाजवादउन्मुख प्रणालीलाई देशभरबाट नियालिरहेको बताउँदै ठूला राजनीतिक दलको विचारहीन, सिद्धान्तहीन राजनीतिबाट देश अस्थिर हुन्छ भन्नुभयो ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
आजकल कुनै पनि संस्थामा कार्यरत व्यक्तिले कति समय पुस्तकालयमा बिताउँछ भन्ने आधारमा पनि त्यस संस्थाले कस्तो जनशक्ति उत्पादन गर्छ भन्ने अनुमान गर्न सकिने भनाईलाई उद्धृत गर्दै उहाँले समाजमा हुने गरेको अन्धविश्वासलाई चिर्नको लागि बौद्धिक वर्गले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


देशको समसामयिक विषयवस्तु, विभिन्न समस्या तथा चुनौतीहरुबारे नियमित रूपमा मासिक अन्तरक्रिया गरी कलेजलाई चिन्तनको चौतारी बनाउन जोड दिँदै उहाँले समाज परिवर्तनको लागि तयार हुने विद्यार्थी उत्पादन गर्नेतिर ध्यान दिन अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले युवा पुस्तालाई समेट्नका लागि अनुसन्धानमा जोड दिँदै भक्तपुरको असल अभ्यास अध्ययन गर्न पाकिस्तानबाट भक्तपुर नगरपालिकाको भ्रमण हुनुबाट भनपा अन्तर्राष्ट्रियस्तरमै परिचित भएको स्पष्ट पार्नुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने नेमकिपाको उद्देश्यलाई पूर्ति गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुरका जनता सङ्घर्षरत रहेको हुँदा हरेक कोणबाट वागीश्वरी कलेजको तर्फबाट पनि सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई समसामयिक विषयवस्तुबारे जानकारी गराउँदै गलत बाटोमा जानबाट रोक्ने प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत शैक्षिक वर्ष २०७८÷२०७९ को कलेजको वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०७९÷०८० को बजेट तथा आ.व. २०७८÷०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरियो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र कलेजका संयोजक ज्ञानसागर प्रजापति, शिक्षक मङ्गलेश्वर ध्वजूले पनि बोल्नुभएको थियो ।