वागीश्वरीमा शुभकामना आदानप्रदान तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

१४ कार्तिक, २०८१ । नेपालीहरूको दोस्रो महान् चाड तिहार र नेपाल संवत् ११४५ तथा छठको अवसरमा शुभकामना तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम बुधबार कमलविनायक र च्याम्हासिंहमा छुट्टाछुट्टै सम्पन्न भयो ।

वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा कमलविनायकमा भएको कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यलाई साकार पार्न भक्तपुर नगरपालिकाले हरेक विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न शैक्षिक एवं अतिरिक्त क्रियाकलापलाई सँगसँगै अगाडि बढाउँदै लगेको बताउनुभयो । “विद्यालयस्तरीय खेलकुद महोत्सव एउटा उदाहरण हो ।”, उहाँले भन्नुभयो ।

विश्वविद्यालय अनुदान आयोगबाट वागीश्वरी कलेजले छिटोभन्दा छिटो गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले जनताको सेवा गर्ने अवसरलाई अझ वृहत्तर रुपमा अगाडि बढाउन नेपाल सरकारले ख्वप विश्वविद्यालयको विधेयक चाँडो संसदमा पेश हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको ७७ वटै जिल्लाका विद्यार्थीहरु भक्तपुरमा अध्ययनरत रहेको जानकारी दिँदै उहाँले जनतालाई सस्तो र गुणस्तरीय शिक्षा दिनको निम्ति भक्तपुर नगरपालिका अघि बढिरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेपालीहरु तिहार मनाइरहँदा विश्वमा अमेरिकी साम्राज्यवादको आडमा इजरायली फासीवादले प्यालेस्टाइनी विद्यार्थीहरुमाथि भइरहेको निर्मम नरसंहारविरुद्ध प्यालेस्टाइनी जनताको पक्षमा नेपाली विद्यार्थीहरुले अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाउन आवश्यक छ भन्नुभयो ।

विद्यालय तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जनताको ऋणमोचन गरिदिने शंखधर साख्वको जनश्रुतिलाई सम्झँदै देशलाई ऋणमा डुबाउने देशद्रोहीहरुबाट देशलाई बचाउन आज पनि नव शंखधर साख्वाको आवश्यकता छ भन्नुभयो ।

उहाँले विदेशी भूमिको बालुवामा सुन फलाउन नेपाली युवाहरुको पसिना प्रयोग भएकोमा वैदेशिक नीतिप्रति विरोध गर्दै नेपाली उर्वरभुमीमा सुन फलाउन नेपाली युवाको पसिना आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले तिहारलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा मनाउन पटाकामुक्त र जुवाताँसमुक्त बनाउनु आवश्यक छ भन्नुभयो ।

विद्यार्थी राज कुस्माको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, विद्यार्थीहरु अनुभव आचार्य, मनोज कुटुवा, रेश्मा श्रेष्ठ र अनुषा प्याठ, दिपिका अधिकारी र प्रकाश रोकायाले पनि बोल्नुभएको थियो ।

विद्यार्थी हित समिति वागीश्वरी एकाइ समितिद्वारा च्याम्हासिंहमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा ९ नं वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरका विभिन्न चाड र संवत्को उल्लेख गर्दै तिहार प्रकृति र वातावरणसापेक्ष रहेको बताउनुभयो ।

उहाँले विद्यार्थीतिर सङ्केत गर्दै भन्नुभयो, “तपाईँहरूले आजैदेखि यसरी यस्ता कार्यक्रम सञ्चालन गर्दै जानुभयो भने पछि अन्य विद्यार्थीहरूले पनि सिक्छन् । पढाइ भन्ने कुरा कक्षाकोठामा मात्रै सिकिने कुरा होइन । हामी मोबाइल, कम्प्युटर र भ्रमणबाट पनि सिक्छौँ ।”

विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले शुभकामना कार्यक्रमको लागि विद्यार्थी हित समितिलाई धन्यवाद दिँदै विद्यार्थीहरुले किताबी ज्ञानसँगसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा पनि जानकारी राख्नु आवश्यक छ भन्नुभयो ।

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवालले शिक्षा संविधानमा निःशुल्क भनिए पनि व्यवहारमा लागू नभएकोले आफूहरूले ध्यानाकर्षण गराउँदै आएको बताउँदै विद्यार्थीले कुनै विषयमा ठिक बेठिक छुट्याउन सक्षम हुनुपर्ने आवश्यकता बोध गराउनुभयो । विद्यार्थीकालमा बिहानदेखि बेलुकासम्म विद्यालयमा अध्ययन गर्दा जङ्क फुडलाई त्याग गरी उचित खानपानमा ध्यान दिएर आफ्नो स्वास्थ्यप्रति सचेत हुन अनुरोध गर्नुभयो ।

वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले पछिल्लो समयमा आफूले पढेका पाँचओटा किताबको चर्चा गर्दै तिहारको पाँच दिने बिदामा पनि विद्यार्थीहरूले पाँचवटा नयाँ किताब पढ्न सुझाउनुभयो ।

शुभकामना मन्तव्यकै क्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तिहार पाँच दिन मनाएजस्तै हाम्रो शिक्षाको पनि विद्यालयदेखि उच्च शिक्षासम्म पाँचओटै चरण रहेको बताउँदै विद्यार्थीहरुले प्रत्येक तहलाई आफ्नो उद्देश्यअनुसार प्रतिफल हासिल गर्न कडा मिहिनेत गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रमका अतिथि विद्यालयका सहायक प्रअ उकेश सुवालले पढाइ भन्ने कुरा आफ्नै लागि, समाजका लागि र संस्कारी बन्नका लागि हो भन्नुभयो ।

विद्यार्थी हित समितिका अध्यक्ष सुवान सुवालको सभापतित्वमा भएको कार्यक्रममा ममता थापा, अभिनव फुयाल, रेयुस गाइजु, जेनिसा विश्वकर्माले पनि बोल्नुभएको थियो ।

औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूले विभिन्न सांस्कृतिक विधाअन्तर्गत नृत्य, गायन, नाटक र धुन प्रस्तुत गरेका थिए ।