वागीश्वरीमा बजेटबारे अन्तरक्रिया सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२÷८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने बताउनुभयो ।

अर्थशास्त्रका विद्यार्थीहरुले नारायणमान बिजुक्छेंद्वारा लिखित “आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास” पुस्तक पनि पढ्न सुझाव दिंदै संयोजक प्रजापतिले सरकारको परनिर्भर बजेटले देशको सार्वभौमिकता नै कमजोर हुने दृष्टान्तहरु दिनुभयो ।
भ्रष्टाचार देशको महारोग भन्दै उहाँले भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्न नसकेसम्म बजेट साँचो अर्थमा कार्यान्वयन हुँदैन भन्दै उहाँले शिक्षामा बजेट सबभन्दा बढी देखिए पनि प्रतिशतका दृष्टिले प्रत्येक वर्ष बजेट घटाउँदै ल्याएको बताउनुभयो । उहाँले शिक्षा मावि तहसम्म निःशुल्क र अनिवार्य हुनुपर्ने र उच्च शिक्षा पनि निःशुल्क हुनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुले सरकारको बजेटमा गरेको यो अन्तरक्रिया र निष्कर्ष प्रशंसनीय छ भन्नुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले बजेट प्रस्तुत गर्ने संसारको विभिन्न देशको उदाहरण दिँदै नेपालको इतिहासमा सुवर्ण समशेरले २००८ सालदेखि शुरु भएको जानकारी दिनुभयो ।
बजेटलाई आम जनताले आ–आफ्नो स्वार्थको आँखाले हेर्ने गरेको चर्चा गर्दै उहाँले बजेटबारे विद्यार्थीहरुले आत्मविश्वासका साथ प्रस्तुती दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी अर्थशास्त्र विभागका प्रमुख मुरज दिदियाले संविधान उन्मुख संविधानअन्तर्गतको सरकारद्वारा प्रस्तुत बजेटले निजी क्षेत्रलाई आर्थिक संवाहक मान्नु विडम्वनापूर्ण छ भन्नुभयो ।
बजेटमा चालु पूँजी ६० प्रतिशत र पुँजीगत खर्च २० प्रतिशत मात्र हुनु अत्यन्त डरलाग्दो स्थिति हो भन्दै कर नतिर्नेहरुलाई दण्ड दिनुपर्नेमा झन कर छुट दिने सरकारी नीति गलत छ भन्दै उहाँले ४४.५ प्रतिशत नेपाली युवा बिदेसिनु चिन्ताजनक छ भन्नुभयो ।
अर्थशास्त्र विषय शिक्षक बालगोपाल श्रेष्ठले बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती अन्त्य हुनुपर्नेमा जोड दिनुभएको सो कार्यक्रममा विद्यार्थीहरु अनमोल ढुङ्गाना, अनिता लिगल, सोनु तामाङ, प्रविणा तामाङ, रुवि स्यामाजु, रोजी प्रजापति र सुमित्रा कार्कीले बजेटका फरक फरक विषयमा सकारात्मक र नकारात्मक पक्ष माथि प्रकाश पार्नुभएको थियो ।

क्षमता अभिवृद्धिबारे तीनदिने तालिम सम्पन्न

भक्तपुर, १७ जेठ । वागीश्वरी कलेजमा क्षमता अभिवृद्धिबारे भइरहेको तीनदिने तालिम शनिबार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त तालिम समापन कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबैको क्षमता उत्तिकै नहुने चर्चा गर्दै व्यक्ति व्यक्तिको क्षमता फरक फरक हुन्छ; तर म जतिको जान्ने कोही छैन भनी घमण्ड गर्न नहुने सुझाव दिनुभयो ।
आफ्नो कमजोरी प्रायः आफूलाई थाहा नहुनसक्छ; त्यस्तो अवस्थामा अरूले गर्ने आलोचनालाई आत्मालोचना गरेर आफूलाई सुधार्नुपर्ने हुन्छ भन्दै उहाँले यसरी नै अनेक आलोचनाहरूबाट सिक्दै आजको सुशासनयुक्त भक्तपुर बनेको हो भन्नुभयो ।
चालीस वर्ष पहिले भक्तपुर र हालको भक्तपुरबारे पूर्वन्यायाधीश प्रकाश वस्तीले तुलना गर्दै हालको स्वच्छ भक्तपुरको मूल कारण सुशासन भनी लेखेको पनि उहाँले स्मरण गर्नुभयो । सोही सन्दर्भमा हालैमात्र ‘नागरिक’ दैनिकले ‘सुशासन हेर्न भक्तपुर जाऔँ’ भनी सम्पादकीय नै लेखेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सिक्ने र सिकाउने कहिल्यै नटुङ्गिने प्रक्रिया हो ।”
सरकारले शिक्षामा बर्सेनि बजेट घटाउँदै लगेकोमा विमति जनाउँदै विद्यालय मर्ज गर्ने सरकारी नीति गलत छ भन्नुभयो ।
पूर्वाधार हुँदाहुँदै पनि सरकारले ख्वप विश्वविद्यालय विधेयकलाई बेवास्ता गरेको आक्रोश व्यक्त गर्दै उहाँले सरकारको बजेटबाट निजी क्षेत्र खुसी भएको हुँदा यो आम गरिब जनताको सरकार हैन भन्ने पुष्टि हुन्छ भन्नुभयो ।
घरदैलो नर्सिङ सेवाबाट प्राप्त तथ्याङ्ककै आधारमा शैक्षिक ऋण र ठाउँठाउँमा शारीरिक व्यायामशालाहरू बनाएको चर्चा गर्दै उहाँले अनुसन्धान पैसा कमाउनु हेतुले भन्दा पनि देश र जनताको सेवा गर्ने हेतुले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले उच्च दक्ष क्षमता नै मानिसको व्यक्तित्वको आधार हो भन्दै तालिममा सहभागी मित्रहरूमा अब विभिन्न विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन गर्ने क्षमता वर्तमान कलेजको आवश्यकता हो भन्नुभयो ।
तालिममा सिकेका सीप व्यवहारमा नउतारे तालिम लिनु निरर्थक हुने पनि उहाँले बताउनुभयो ।
वागीश्वरी कलेज आरएमसीका इन्चार्ज प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, तालिमका सहभागीद्वय रविन मानन्धर (काभ्रे बहुमुखी क्याम्पस) र सुशीला घजु (वागीश्वर कलेज) ले तालिमको अनुभव सुनाउँदै सिकेको सीप व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले आगामी दिनमा हुने हरेक कार्यक्रममा यस्तै उत्साहजनक सहभागिताको अपेक्षा गर्दै सहयोगी विश्वविद्यालय अनुदान आयोगप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूलाई अतिथि प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।