वागीश्वरी कलेजका स्नातक चौथो वर्षको सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया

भक्तपुर । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया कार्यक्रम कलेजकै सभाकक्षमा जेष्ठ १३ गते आइतबार सम्पन्न भयो ।
कार्यक्रममा मानविकी सङ्कायका प्रमुख एवं कार्यक्रमका सभापति राजन फेलूले सामुदायिक कलेजका विद्यार्थीहरू समुदायमै गएर अध्ययन गरेर समुदायकै आवश्यकताबमोजिम विभिन्न ९ वटा समूहले गरेको परियोजना कार्यको प्रस्तुतीकरण निकै प्रशंसनीय भएको बताउनुभयो । मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षमा फरक फरक ढङ्गले समुदायमै अध्ययन गरेर विभिन्न शिविर, पदयात्रा, अध्ययन भ्रमण गरिरहेको पनि चर्चा गर्नुभयो ।

शिक्षकहरू मंगलेश्वर ध्वजू, अविना श्रेष्ठ र विद्यार्थी प्रनिता अधिकारीले बोल्नुभएको सो अन्तरक्रियामा डिजिटल साक्षरतामार्फत् युवा परिचालन कार्यक्रम, किशोरावस्था विद्यार्थीहरूमाझ महिनावारीसम्बन्धी स्वास्थ्य जनचेतना, व्यवस्थित तरिकाले पुराना कपडा वितरण, फोटोग्राफी साक्षरतासम्बन्धी कार्यक्रम, स्वस्थ स्वास्थ्यका लागि पत्रु खाजा सेवनविरुद्ध जनचेतनामूलक कार्यक्रम, स्वस्थ जीवनका लागि हात धुने तरिका कार्यक्रम, स्वच्छ वातावरणका लागि सरसफाइ कार्यक्रम, युवामाझ साइबर अपराधसम्बन्धी जनचेतना, हात धुने संस्कार कार्यक्रमलगायतका विषयमा विद्यार्थीहरूले समूहगत रुपमा आवश्यकता पहिचान, तयारी, गतिविधि, सिकाई र निष्कर्ष आदिबारे प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा स्नातक प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत समाजशास्त्र, सामाजिक कार्य, ग्रामीण विकास, पत्रकारिता आदि विषयका विद्यार्थीहरूको सहभागिता थियो ।

कार्यकक्षमा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज कमलविनायकको आयोजनामा यहाँ भइरहेको ‘कार्यकक्षमा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला’ जेष्ठ १२ गते शनिबार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त कार्यशालाको समापन समारोहमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले संसारभर नै मोबाइलको स्क्रिन टाइमले समाजलाई नै तनाब दिइरहेकोमा चिनियाहरुले स्क्रिनको विरुद्ध ग्रीन टाइमलाई जोड दिइरहेको चर्चा गर्दै तनाव व्यवस्थापन गर्न सामाजिक गतिविधि र प्रकृतिको समीपमा रहनुपर्नेमा जोड दिनुभयो ।


हाम्रा पुर्खाले धर्मकै नाममा भए पनि पहाड पर्वत र वनजङ्गलमा देवी देवता दर्शन गर्न जाने परम्परा बसालेको चर्चा गर्दै उहाँले आफ्नो तनाब नै सबभन्दा ठूलो तनाब नठानी पुर्खाले भृकुटीलाई तिब्बतमा विहे गरी पठाउँदा कस्तो तनाव व्यहोरे होला अनुमान गरौं भन्नुभयो । उहाँले भन्नुभयो– ‘भृकुटीले यात्रा गरेका मार्ग अहिले पछ्याउन सके एउटा ठूलो उपलब्धि हुन सक्छ ।’
तनाव व्यवस्थापन शिक्षक–विद्यार्थीहरुलाई मात्र नभई राजनीतिक नेता कार्यकर्ताहरुलाई पनि आवश्यक देखिएको उल्लेख गर्दै उहाँले प्रदेशका स्वास्थ्य मन्त्रीलाई स्कुल र कलेजहरुमा मनोपरामर्शदाता पठाउने व्यवस्था गर्न सुझाव दिएको जानकारी दिनुभयो । सोही क्रममा उहाँले भन्नुभयो– ‘अघिल्लो कार्यकालमा विद्यालय नर्सिङ सेवाको दिइएको सुझाव हाल प्रभावकारी ढङ्गले लागु भइरहेको देखिन्छ ।’
देशको राजनीतिक अवस्था बिग्रिँदा त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्दा धेरैलाई तनाव बढेको छ भन्दै उहाँले कोही पनि नेपाली तनाव मुक्त भएर बस्न नपाइएकोमा सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।
सामुहिक भावनाका साथ मिलेर काम गर्ने संस्कार बसाल्न सके तनाव न्यून गर्न सकिने चर्चा गर्दै उहाँले बौद्धिक र व्यावहारिक क्षमता बढाउने र प्रविधि मैत्री हुन सके तनाव थप न्यून हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक कलेजको अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले व्यवस्थापनको अभावमा देश सबै भएर पनि केही नभएको जस्तो भएर बस्नुपरेको अवस्थाको चित्रण गर्नुभयो । उहाँले भन्नुभयो– ‘मिहिनेती मान्छे कहिल्यै तनावमा पर्दैन जस्तोसुकै समस्या पनि हिम्मतका साथ समाधान गरेर अघि बढ्छ ।’
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेज अफ मानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र कार्यशालाका सहभागी काभ्रे बहुमुखी क्याम्पसका शिक्षक हरिकृष्ण बखुन्छेले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा स्रोतव्यक्तिद्वय डा. ऋषिराज बाराकोटी र उत्तम आचार्यलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरु ३१ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

वागीश्वरी कलेजमा अनुसन्धानमूलक लेखन तथा प्रकाशनसम्बन्धी दुई दिने गोष्ठी सुरु

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा वागीश्वरी कलेजमा अध्यापनरत शिक्षकलाई अनुसन्धानमूलक लेखन र प्रकाशनसम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रम बैशाख २१ गते शुक्रबार सम्पन्न भयो ।

गोष्ठीका प्रमुख अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यशाला गोष्ठी सफलताको निम्ति शुभकामना दिँदै वागीश्वरी कलेज अनुसन्धानको क्षेत्रमा क्रमशः सक्षम हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
पिछडिएको जिल्लाको रूपमा परिभाषित भक्तपुर जिल्लालाई ‘एक घर एक स्नातक’ को मूल उद्देश्य लिएर अघि बढ्दा आज कला संस्कृतिसँगै शिक्षालगायतका क्षेत्रमा नमूना बनाउन सफल भएको दृष्टान्त प्रस्तुत गर्दै हामीले अनुसन्धानमा गरेको मिहिनेतले भोलि आउने पिँढीलाई मार्गनिर्देशन गर्ने बताउनुभयो ।
वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षालाई उत्पादनमूलक, सक्षम, व्यावहारिक बनाउँदा विद्यार्थीहरूको गुणस्तरमा वृद्धि हुने बताउँदै वागीश्वरीले पढाइसँगै विद्यार्थीहरूलाई उद्यमशील हुन प्रेरित गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षक सक्षम भए गुणस्तरीय विद्यार्थीहरू उत्पादन हुने भएकाले यस्ता कार्यशाला गोष्ठीहरू शिक्षक विद्यार्थीहरू सबैलाई आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति वागीश्वरी अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सिद्धिवीर कर्माचार्यले वागीश्वरी कलेजबाट भएका अनुसन्धानात्मक गतिविधिबारे चर्चा गर्दै अनुसन्धान जहाँ हुन्छ त्यस क्षेत्रमा पढाइ परिष्कृत हुँदै जाने बताउनुभयो ।
कार्यशाला गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय डा. कोमल फुयाल र डा. शिव रिजाल स्रोतव्यक्ति रहनुभएको छ ।
वागीश्वरी कलेजको अनुसन्धान समितिका संयोजक तथा उपप्राध्यापक मोहनकृष्ण श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।

वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूमाझ दुई छुट्टाछुट्टै कार्यशाला बैशाख १९ गते सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा व्यवस्थापन सङ्काय स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूमाझ “प्राइमरी डाटा कलेक्सन कार्यशाला गोष्ठी” सम्पन्न हुनुका साथै मानविकी सङ्काय स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि “जलवायु परिवर्तनको रोकथाममा युवाको भूमिका” सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले कार्यशाला गोष्ठीले वौद्धिक ज्ञान निर्माणका साथै क्षमता अभिवृद्धिमा मद्दत पु¥याउने बताउँदै विश्वविद्यालयका विद्यार्थीहरू ज्ञान आर्जनमा मात्र सीमित नभई ज्ञान उत्पादनमा पनि अग्रसर रहनुपर्ने बताउनुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले किताबी ज्ञानका साथसाथै यस्ता कार्यशाला गोष्ठीले विद्यार्थीहरूलाई सामाजिक वातावरणमा सजिलै घुलमिल भई काम गर्न सक्षम बनाउने बताउनुभयो ।
बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको प्राइमरी डाटा कलेक्सन कार्यशाला गोष्ठीका स्रोतव्यक्ति उप प्रा.डा. बलराम दुवाल र उप प्रा.डा. किशोर हाकुदुवाल रहनुभएको छ ।
साथै वागीश्वरी कलेजको आयोजनामा भएको विद्यार्थीहरुका लागि जलवायु परिवर्तनमा युवाको भूमिका कार्यशाला गोष्ठीमा प्रशिक्षकहरु सागर कोइराला, प्रतिशा जोशी, दिक्षा सुवेदी, कुशल निरौला रहनुभएको छ ।
कार्यक्रममा वागीश्वरी अनुसन्धान समितिका संयोजक सिद्धिवीर कर्माचार्य, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले पनि बोल्नुभएको थियो ।
स्रोतव्यक्ति तथा प्रशिक्षकहरूलाई वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले मायाको चिनो प्रदान गरी सम्मान गर्नुका साथै प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो । दुवै कार्यशाला गोष्ठीमा ६८ जना विद्यार्थीहरू सहभागी भएका थिए ।