भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेन्टको संयुक्त आयोजनामा तिहार, न.सं.११४६ र छठ पर्वको अवसरमा शुभकामना तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम कार्तिक २ गते आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजवादउन्मुख शिक्षा प्रणाली लागु नगरी पूजीबादउन्मुखलाई जोड दिएकाले गुणस्तरीय शिक्षामा सबैको पहुँच नपुगेको बताउनुभयो । देशको शैक्षिक कार्यक्रम आत्मनिर्भरतामा केन्द्रित हुनुपर्नेमा राज्यले विदेशमुखी बनाएको उहाँले स्पष्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले समाजवादउन्मुख शिक्षा प्रणालीलाई केन्द्रित गरी विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । साथै उहाँले वैदेशिक रोजगारीको नाउँमा जनतालाई राज्यले खरिदविक्रीको वस्तु बनाइराखेको औल्याउनुभयो । एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सिप भएकाले कहिल्यै बेरोजगार हुन नपर्ने बताउँदै भक्तपुर नगरपालिकाले व्यवहारिकतालाई ध्यानमा राखी सिपमूलक तालिमहरु गर्दै आएको बताउनुभयो ।
उहाँले एनजीओ र आइएनजीओहरुले देशका नेताको दिमागलाई खोक्रो पारेको बताउँदै शिक्षा क्षेत्रलाई सेवाभन्दा व्यापारीक थलोको रुपमा विकास गरेको बताउनुभयो । राज्यको शिक्षा नीतिले विद्यालय र कलेजबाटै गरिब र धनीबीचको वर्गभेद छुट्याएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्थामा बहुसंख्यक जनताको हित हुने बताउँदै रिजरभ्वायरमै फोहोर पानी छ भने घर घरमा आउने पानी सफा हुन नसक्ने औंल्याउनुभयो । साथै सरकारले हरेक पटक नाफाकै निम्ति काम गरेकाले राम्रो शैक्षिक कार्यक्रमको स्वीकृति दिन नमानेको स्पष्ट पार्नुभयो ।
वागीश्वरी कलेज अफ म्यानाज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले ध्वंश मात्र गर्न जान्ने र निर्माण गर्न नजान्नेलाई बाँदरे प्रवृत्तिको संज्ञा दिँदै वागीश्वरीका विद्यार्थी देश बनाउनका लागि नमूनासावित भइरहेको बताउनुभयो । उहाँले अहिलेका नयाँ पुस्ताले प्रविधिको सही सदुपयोग गर्न सकेमा देश बन्ने औंल्याउनुभयो । साथै इजरायलले प्यालिस्टिनी जनताको नरसंहारविरुद्ध वागीश्वरीले निरन्तर आवाज उठाइरहेको बताउँदै वागीश्वरीका विद्यार्थी राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा ज्ञान लिइरहेको स्पष्ट पार्नुभयो ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले नेपाली जनताको काँधमा आएको २७ अर्ब राज्यको ऋण मोचन गर्ने नयाँ शंखधरको खोजी भैरहेको बताउँदै नयाँ पुस्ताले राज्यलाई दुबाउने भ्रष्टहरुको विरुद्ध निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । वागीश्वरीले स्वाधिनता र स्वाभिमानलाई बेचेर कुनै काम नगरेको स्पष्ट पार्दै उहाँले सबैसँग इमानदारीता भएको भए देश खादलमा नपर्ने बताउनुभयो । नयाँ पुस्ताले डिजिटल प्रविधिलाई रचनात्मक कार्यका रुपमा उपयोग गर्न जोड दिँदै आफ्नो ऊर्जालाई देश र जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनुभयो । नयाँवर्षसँगै वागीश्वरीले विभिन्न तालिम तथा कार्यक्रमहरु ल्याएको उहाँले स्पष्ट पार्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले पढाइसँगै विद्यालयबाट गरेका अतिरिक्त क्रियाकलापहरुबारे स्पष्ट पार्नुभयो । विद्यालयको आचारसंहितालाई अक्षरस पालना गर्न जोड दिँदै उहाँले असल नागरिकको रुपमा देश र जनताको पक्षमा आफ्नो अध्ययनलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्न सैद्धान्तिकसँगै व्यवहारिक सिपमूलक कार्यमा कलेजले जोड दिइरहेका बताउनुभयो । आजका विद्यार्थीले डिजिटल प्रविधिविना जीवनलाई सार्थक बनाउन नसक्ने बताउँदै उहाँले सफल जीवनका लागि सफल मार्ग निर्देशकको खाँचो हुने औंल्याउनुभयो । साथै शिक्षालाई सिपसँग नजोडी महत्वपूर्ण भाग वाह्य शक्तिबाट निर्देशित हुने हो भने देश दुर्घटनामा पर्ने उहाँको कथन छ ।
वागीश्वरी कलेजको रिसर्च म्यानाज्मेन्ट कमिटीका संयोजक प्राध्यापक डा. सिद्धिवीर कर्माचार्यले देशका कोही नेताको दम्भ र अहंकारले देश पछि धकेलेको स्पष्ट पार्दै देशको मुहार फेर्न विद्यार्थीहरुले निरन्तर इमान्दारिपूर्वक काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले भक्तपुरका हरेक पर्व कसैसँग मेल नखाने भएकोले पहिलो पर्व भएको स्पष्ट पार्नुभयो ।
वागीश्वरीका नवआगन्तुक विद्यार्थीहरु सहदेव ढकाल, जेनी सुकमनीलगायतले खुशी व्यक्त गरेको उक्त कार्यक्रममा नितु चौरासिया, जेनिस बाँडे, लक्मी तामाङ, क्रिषला प्रजापतिले पनि बोल्नुभएको थियो ।
औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरुबाट सांस्कृतिक विधा प्रस्तुत गरेको थियो ।





































